oli-nepal-prachanda_kantipathn.jpg

काठमाडौं — पार्टी एकताले पूर्णता नपाउदैँ विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षको बैठक कार्की ब्याङ्क्वेट बबरमहलमा बिहान ११ बजेपछि बस्न लागेको हो ।

यसअघि गत मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक आयोजना गरेका थिए । ओली समूहले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने र पार्टी महाधिवेशन २०७८ साल मंसिर २ गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो । साथै पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठ लाई हटाएर सोको जिम्मेवारी परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीलाई दिइएको थियो ।

प्रचण्ड–माधव समूहले भने अध्यक्ष पदबाट केपी शर्मा ओलीलाई हटाएर माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको थियो । तर नेकपाका दुवै समूहले आधिकारिक पार्टी आफूहरु नै भएको दाबी गर्दै आएका छन् ।