rauta.jpg

काठमाडौँ — कर्णाली प्रदेशका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउदै आइरहेका राउटे समुदायका मानिसहरुलाई सङ्घीय सरकारबाट प्रदान गरिने भत्तामा कर्णाली प्रदेश सरकारले थप दुई हजार रुपियाँ थपिदिने भएको छ । यसअघि सङ्घीय सरकारबाट मासिक तीन हजार रुपियाँ लोपोन्मुख जातिबापत भत्ता पाउने उनीहरुले अब प्रदेश सरकारले थप गरेको दुई हजारसहित मासिक पाँच हजार भत्ता पाउने भएका छन् । कर्णाली प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लोपोन्मुख राउटे जातिको संरक्षण र संवद्र्धन गर्न प्रतिव्यक्ति मासिक दुई हजार भत्ता दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री विमला केसिले राउटेलाई मासिक दुई हजार रकम भत्ता दिन आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत दैलेखको गुराँस गाउँपालिकालाई बजेट हस्तान्तरण गर्न र सो गाउँपालिकालाई नियमानुसार वितरण गर्न निर्देशन दिइएको बताउनुभएको छ । यसैगरी बैठकमा खाद्यान्न खरिदको खर्च शीर्षक अन्तर्गत विनियोजित रकममध्येबाट १५ करोड र कोभिड शिक्षातर्फको खर्च शिर्षकबाट विनियोजित रकम १० करोड रुपियाँको बजेट क्रमागत योजनाका लागि रकमान्तर गर्ने निर्णय भएको जनाएको छ । त्यस्तै शान्ति तथा पुनस्र्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक कर्णाली प्रदेशमा सचिवालयमा ब्याज अनुदान कार्यविधि २०७७ लाई स्वीकृति दिएको छ ।