mahalaxmi bank 2077.jpg

काठमाडौं– महालक्ष्मी विकास बैंकको ललितपुरस्थित कुमारीपाटी शाखामा कर्मचारीको मिलेमतोमा व्यापक अनियमितता भएको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले जनाएको छ । उक्त शाखामा भएको अनियमितताको अनुसन्धानका क्रममा सोही शाखाका प्रमुखसहित कर्जालिने व्यक्तिसमेत पक्राउ परेकाछन् ।

आर्थिक प्रलोभनमा परी कम तौलका सुनका विभिन्न गहनाहरु धितोराखी ७ करोड ४२ लाख ६१ हजार रुपियाँ ऋण प्रवाह गरेको उजुरी परेपछि सीआईवीले उक्त बैंकमा अनुसन्धान थालेको थियो । सोही क्रममा कमसल धितोराखी बैंककै कर्मचारीकै संलग्नतामा ऋण प्रवाह भएको सीआईवीले जनाएको छ ।

सीआईवी ब्युरोका प्रमुख समेत रहेका डीआईजी सहकुलबहादुर थापाले जनाए अनुसार उक्त प्रकरणमा शाखा प्रवन्धक स्मृति राना, अनिस सिंह सिजापती र पिंकु पालिखे समेत कमसल सुन धितो राखी कर्जा लिने पूर्ण राई, सन्दीप लिम्बु र देवानन्द राई पक्राउ परेका छन् । पक्राउ गरिएका व्यक्ति विरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिन म्याद थप गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।