samad 2077.jpg

नवसञ्चार संवाददाता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कोटरीका पूर्व गृहसचिव प्रेम राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको खुलासा भएको छ । अख्तियार प्रमुखमा आफ्नो विश्वास पात्रलाई लगेर नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तात्कालिन माओवादी सेनाको शिविर क्यान्टोन्मेन्टमा भएको भ्रष्टाचार र वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको मुद्दाबाट प्रतिशोध लिने रणनीतिक योजनामा रहेको विशेष स्रोतको भनाइ छ ।

बाहिर जे जसो भनिए तापनि पार्टी भित्रको मुख्य किचलो भनेकै अख्तियार प्रमुखमा आफ्नो मान्छे लग्ने विषय नै रहेको भन्ने स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिशोध लिनका लागि आफ्नो मान्छे अख्तियार प्रमुखमा नियुक्ति गर्न कै लागि संवैधानिक परिषद्को बैठकमा उपस्थित सदस्यहरुमध्ये बहुमत सदस्यबाट निर्णय गर्न सक्ने गरी संशोधन गरिएको थियो । संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मङ्सिर ३० गतेको बसेको परिषद्को बैठकले पूर्व सचिव राईलाई अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

उक्त निर्णय गोप्य राखिए पनि केहीबेर अघि संसद सुनुवाइका लागि संसद सचिवालयमा संवैधानिक परिषद्को पत्र पुगेको छ । तर पत्र पुग्दा नपुग्दै सरकारको सिफारिसमा प्रतिनिसभा विघटन भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको बहुमत हुँदा हुँदै संसद विघटन गर्नुको रहस्य खुल्दै गरेको छ । यसले गर्दा अब सुनुवाइ बिनै नियुक्तिका लागि ४५ दिनपछि बाटो खुलेको छ। राईसँगै अरु केही व्यक्तिलाई पनि आयोगमा सिफारिस गरिएको स्रोतको दाबी छ ।

नेकपाका दुई अध्यक्षबीच अध्यादेश फिर्ता लिने, कसैलाई पनि सिफारिस नगर्ने र विशेष अधिवेशनका लागि तयार भएको पत्र राष्ट्रपति कार्यालयमा दर्ता नगर्ने सहमति भएको थियो । तर परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले छक्याएर राईलाई अख्तियार पठाउन सफल भएका छन् । पुस १ गते पुनः ओलीले जारी अध्यादेशअनुसार अर्को बैठक राख्न खोजे पनि विपक्षी र नेकपाकै अर्को पक्षको विरोधमा रोकिएको थियो ।