bidhya 2077.jpg

नवसञ्चार संवाददाता

काठमाडौँ – अन्ततः सङ्घीय संसद् विघटन भएको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्तावलाई स्वीकृत गरेकी हुन् । वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्।

सरकारको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (१० र (७) तथा धारा ८५ र संसदीय अभ्यासलाई मध्यनजर गर्दै संसद विघटन गरिएको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा जनाइएको छ ।

राष्ट्रपति कार्यालयको सूचनामा उल्लेख गरिएको छ, ‘नेपालको संविधानको धारा ७६ को उपधारा (१० र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम’ भनि उल्लेख गरिएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ ।’


samsad bighatan 2077.jpg