bidhya oli photo 2077.jpg

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेर भेटे लगतै अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गर्न पुगे । खुमलटारमा आज भएको छलफलमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमसमेत सामेल भएका थिए ।

प्रधानमन्त्री ओलीले खुमलटारबाट निस्के पछि गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि भेट गरेका छन् । पार्टी भित्रको विवाद समाधान हुन नसके पछि पार्टी फुटको घोषणामा पुगेर बसेको छ । प्रधानमन्त्री ओली पार्टी बैठकमा सहभागी हुने र आफुले गरेका सर्वसम्मत निर्णयलाई पनि अस्वीकार गर्दै पार्टीलाई अनिर्णयको बन्दी बनाउँदै आएका ओलीको आज बिहानदेखिको सक्रियताले राजनीतिलाई पुनः तरङ्गित बनाएको छ । भ्रम र छलछाम गर्न माहिर मानिएका प्रधानमन्त्रीले पार्टीबाट विश्वास गुमाउँदै गएका छन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक निकायसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएता पनि आजसम्म उक्त अध्यादेश फिर्ता भएको छैन । सो अध्यादेशका विषयमा सर्वत्र विरोध भएको र पार्टी फुटको घोषणाको अवस्थामा पुगेको अवस्थामा राष्ट्रपति भण्डारीलाई भेटेर के निर्णय गर्ने हुन् भन्ने राजनीतिक वृत्तमा अन्योल छ । प्रधानमन्त्री ओलीको कार्यशैलीले देशको राजनीतिमा कतिखेर बज्रपात हुने भन्ने आशङ्का कायमै छ । सम्भवत प्रधानमन्त्रीले उक्त संवैधानिक निकायसम्बन्धी अध्यादेश फिर्ता लिने छन् ।