nepal airlince 320.jpg

काठमाडौं । कोभिड–१९ को महामारीका कारण चैतदेखि बन्द भएको हवाई सेवा आजबाट सुरु भएको छ । भारतको राजधानी दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु भएको छ । सरकारले ११ चैतपछि देशव्यापी लकडाउन र हवाई उडानमाथि सरकारले रोक लगाएको थियो । लामो समयको अन्तरालपछि आजबाट यो रुटमा नेपाल वायुसेवा निगमको जहाजले १४१ जना यात्रु लिएर पहिलो उडान गरेको छ । ए–३२० न्यारोबडी जहाजको उडान सवा ११ः२५ बजे भारतको नयाँ दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताउनु भयो । लकडाउन पछिको पहिलो आजको दिल्ली जाँदा र आउँदा दुबै उडानमा राम्रो अक्कुपेन्सी छ भएको र यात्रु सङ्ख्या भने विमानस्थलबाट आइनसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ । निगमका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने छ । सो जहाजले दिल्लीबाट यात्रुलाई काठमाडौं ल्याउने छ । भारतले एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत् हवाई उडान खुकुलो बनाएको छ ।

नेपाल सरकारले समेत सोही स्कीम स्वीकार गरेपछि भारतसँगको उडान सञ्चालनमा आएको हो । यात्रुको चाप बढेसँगै निगमले ठूलो जहाज उडाउने तयारी गरेको निगमको छ । यस रुटमा गत चैत १० गते यता नियमित उडान हुन सकेको छैन । सरकारले गत भदौबाट अन्तर्राष्ट्रिय उडान खुला गरेपनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिइएको थिएन । यस अघि निगमले दुवै, दोहा, हङ्कङ, क्वालालम्पुर लगायतका सेक्टरमा नियमित उडान भर्दै आएको छ । जसमा ८० प्रतिशत अकुपेन्सी रहेको निगम प्रवक्ताको भनाइ छ ।

नेपाल र भारतबीच दैनिक एक÷एक जहाजले उडान गर्ने सहमति भएको छ । जसअनुसार भारतबाट एयर इण्डियाले नेपालमा उडान गर्नेछ । तर उक्त कम्पनीले कहिले देखि नेपालमा उडान गर्ने भनेर मिति तोकिसकेको छैन । खुलेको उडानमा स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्ड भने यात्रुले पुरा गर्नुपर्ने भएको छ । भारत जाँदा अधिकतम ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य गरिएको छ । भारतबाट नेपाल आउने यात्रुले अनलाइन फारम भरी आवश्यक कागजात पेश गरेपछि नेपाल आउने अनुमति पाउने छन् ।