gadi.jpg

काठमाडौँ — यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । उपत्यकामा मात्र असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै सबै व्यवसायी सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् । सबै क्षेत्र खुल्दै गएपछि सवारी साधनमा यात्रुको चाप बढ्दो छ । तर जोरबिजोर प्रणालीले गर्दा सवारीको संख्या भने कम छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रूपमा अपिल जारी गर्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका हुन्  । जोरबिजोर प्रणालीमा सवारी सञ्चालन हुँदा सवारी संख्यामा कमी भएको र यात्रुको चाप बढी देखिएपछि कोरोनाको संक्रमण जोखिम बढ्न सक्ने भएकाले जोरबिजोर हटाउनुको विकल्प नभएको व्यवसायीको भनाइ छ  ।

जोरबिजोरका रूपमा सवारी चलाउने कामले थप संकट निम्त्याएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । ‘उपत्यकाको रिङरोडबाट बाहिर जाने मात्र २९ वटा रुट छन्, सहरभित्र जोरबिजोर प्रणालीले ठूलो असर नगर्ला । तर बिहान सहर आएर बेलुका फर्किने रुट छन् तिनलाई ठूलो समस्या परेको छ ।’ यात्रुको चाप हुने रत्नपार्कबाट चापागाउँ, कीर्तिपुर, दक्षिणकाली, साँखु क्षेत्रमा जाने सवारीलाई सबैभन्दा ठूलो असर पुगेको उनको भनाइ छ । अहिले थोरै सवारी हुँदा यात्रुको चाप बढेको छ । ‘कोरोना संक्रमण नियन्त्रण गर्न लागू गरिएको जोरबिजोरले सवारी साधनमा यात्रु खाँदाखाँद हुँदा झन् कोरोनाको जोखिम बढ्ने खतरा बढ्दै गएको छ । जसले गर्दा यात्रहुलाई पनि कष्ट सहनुप¥यो । यातायात श्रमिक मारमा परेको व्यवसायीको भनाइ छ । १५ दिन काम गरेर परिवार पाल्नुपर्ने बाध्यता रहेको छ । ‘त्यति मात्र होइन, मजदुरहरूको आम्दानी पनि घटेको छ, १५ दिनको आम्दानीले महिना दिनसम्म सास अल्झाउन समेत गाह्रो परेको छ । सबैलाई अप्ठ्यारो परेको समयमा सरकारले अव्यावहारिक नीति किन कार्यान्वयन गरिरहन्छ ?’

यस विषयमा पटकपटक सरकारको ध्यानाकर्षण गराउदा पनि सरकारले यसमा कुनै चासो दिएन । ब्यवसायीहरुको अनुरोध शुक्रबारभन्दा अघि नै स्विकारेर सरकारले जोरबिजोर हटाउने निर्णय गरोस्, होइन भने सबै सवारी चल्नेछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पनि सबै सवारी चलाउने निर्णयमा पुगिसकेको बताए । ‘सवारी साधन चलाएर कोरोना हुँदैन, भीडले हुन्छ,’ उनले भने, ‘त्यसैले स्वास्थ्य सावधानी अपनाएर गाडी चलाउँछौं ।’

चैत ११ देखि बन्द रहेका फिल्म हल पनि सरकारले अहिलेसम्म खोल्न दिएको छैन । पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरेको भन्दै नेपाल चलचित्र संघले पुस १० बाट देशभरका फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । ‘सरकारलाई धेरै पटक फिल्म हल खोल्न माग गर्दै ज्ञापन बुझायौं तर सुनुवाइ भएन,’ संघका उपमहासचिव गोपालकाजी कायस्थले भने, ‘सबै क्षेत्र खुलिसके, हाम्रो क्षेत्रलाई मात्र किन बन्द गरेर राखिराख्नुपर्ने ? अब स्वास्थ्य मापदण्ड अपनाएर फिल्म हल खोल्छौं ।’ हल बन्द भए पनि विद्युत् महसुल, कर र जरिवाना तिरिरहेकाले ती शुल्क मिनाहा गर्नुपर्ने माग पनि आफूहरूको रहेको उनले बताए ।

फिल्म छायांकनका लागि बाटो खुला भइसकेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । ‘फिल्म हल खोल्ने बारेको प्रस्ताव मन्त्रिपरिषद्मा गइसकेकाले केही दिनमै निर्णय हुनेछ,’ उनले भने, ‘अब धेरै समय नलाग्ला ।’ यसबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ सकारात्मक रहेको उनको दाबी छ । सरकारले निर्णय नगरे पनि पार्टी प्यालेस र जिम हल भने प्रायः खुलिसकेका छन् । बुधबारबाट सबै मठमन्दिर खुला भएकाले पार्टी प्यालेस पनि खुल्ने नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लीलाबहादुर जीसीले बताए । ‘सरकारले औपचारिक रूपमा निर्णय गरेको छैन,’ उनले भने, ‘तर हामी अब ब्याक हुँदैनौं, स्वास्थ्य सावधानी अपनाएर सबै पार्टी प्यालेस खोल्ने निर्णयमा पुगेका छौं ।’