oli prachanda photo.jpg

बहुमतको सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी विभाजनको सङ्घारमा पुगेको छ । बाहिर दुई अध्यक्ष बीचको कलह भनिएता पनि मुख्यतः पार्टीको अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीले जनवादी केन्द्रीयता, पार्टी विधान र बैठकका निर्णयलाई पटक पटक लत्याउँदा पार्टी चरम विवादमा फस्दै आएको छ । कार्तिक ४ गते अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच चर्काचर्की भएपछि ११ दिनको संवादहीनतालाई चिर्दै १६ गते आइतबार बालुवाटारमा छलफलमा नारिए । तर दुई अध्यक्षबीचको संवाद तिक्ततापूर्ण रह्यो । प्रचण्ड निकट स्रोतका अनुसार अब यसरी बस्न सकिने अवस्था नरहे अलग अलग बाटो लागौं भनेर प्रधानमन्त्रीले प्रचण्डलाई सुझाए पछि पार्टीमा ठूलै कम्पन आयो । सचिवालयका अधिकांश सदस्यहरु प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्रीको रवैया प्रतिका विषयमा संवाद गर्न जुटे ।

यसैबीच प्रधानमन्त्री ओलीले हिजो १७ गते सोमबार प्रचण्डलाई टेलिफोन गरेर हामी दुवै मिलेर अगाडि बढौं भन्ने आग्रह गरेको स्रोतको भनाइ छ । तर कार्यकारी भनिएका अध्यक्ष प्रचण्डले पार्टीमा उत्पन्न विवाद समाधान गरेर अगाडि बढ्नका लागि सचिवालय बैठक बसौं भन्ने प्रस्तावलाई प्रधानमन्त्रीले पुनःअस्वीकार गर्नुभएको स्रोतको भनाइ छ । स्रोतका अनुसार पहिला दुई अध्यक्षका बीच छलफल गर्ने र पछि सचिवालयको बैंठक बस्ने प्रधानमन्त्री ओलीको प्रस्तावमा कार्यकारी अध्यक्ष प्रचण्ड सहमत नभए पछि टेलिफोन संवाद टुङ्गिएको थियो । प्रधानमन्त्री ओली वार्ताका नाममा सत्ता लम्ब्याउने र नभए पार्टी फुटाउने रणनीतिमा लागेको नेताहरुको बुझाइ छ ।