Exam board photo.gif

काठमाडौं– कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । आजबाट सञ्चालन गरिएको परीक्षामा आवश्यक सुरक्षाको मापदण्ड र सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन भएको छ । डेढ घण्टाको लागि तय गरिएको उक्त परीक्षा अहिले बिहान ८ बजेदेखि सुरु भएको छ भने ९ः३० मा सकिने छ । आजबाट सञ्चालन भएको परीक्षा १६ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा बोर्डका अनुसार कोराना भाइरसको सङ्क्रमणका कारण बिरामी भएको विद्यार्थीहरुका लागि सङ्क्रमणबाट मुक्त भएपछि परीक्षा लिने व्यवस्था मिलाइने छ । अहिले विद्यार्थीहरुलृ ४० प्रतिशत अङ्कको मात्र परीक्षा दिंदैछन् । बाँकी ६० प्रतिशत आन्तरिक मूल्याङ्कनबाट अङ्क दिने व्यवस्था गरिएको छ । विद्यार्थीको मात्र परीक्षा लिइने छ । बोर्डले गत भदौमा १२ कक्षाका विद्यार्थीहरुको विवरण सङ्कलन गरेको थियो । परीक्षा बोर्डले २०७६ साल र त्यसभन्दा अघि लिइएको ११ कक्षाको वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त गरेको विषयगत प्राप्ताङ्कलाई सय प्रतिशत मानेर सोको ४० प्रतिशत अङ्कभार कक्षा १२ को मूल्याङ्कमा जोडिने जनाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको महामारी बढ्न सक्ने भन्दै सरकारले विद्यालयदेखि विश्व विद्यालयसम्मका सबै परीक्षाहरु सञ्चालन गर्न रोक लगाएको थियो ।