chhatt parba.jpg

काठमाडौं— बुधबारदेखि नै सुरु भएको छठ पर्व शुक्रबार साँझ र शनिबार बिहान सूर्यलाई अर्घ दिएपछि मात्रै विसर्जन गरिन्छ । घरबाट तयारी गरेर नजिकका खोला र पोखरीमा सूर्यलाई अर्घ दिएर मानिने छठका मुख्य विधि घरभित्रै गर्न सहज छैन्  । जलाशयलाई सफा गर्ने, सजाउने र छठको गीत–सङ्गीत बजाउने क्रम सुरु भइसकेको छ । छठको पूजा गर्ने घाटमा सर्वसाधारणको थामिनसक्नु भीड लाग्छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको यस विषम परिस्थितिबीच सरकारले सार्वजनिक स्थानमा भीडभाड नगरी घरमै पूजा गर्न आग्रह गरेको छ  । तर व्रतालु र तिनिहरुका परिवारको छठ घरमै मान्ने तयारी देखिँदैन ।

सरकारले घरमै छठ मनाउन अपिल गरेता पनि स्थानीय प्रशासनले छठ पर्वका लागि पोखरी–तलाउमा भइरहेको तयारी भने रोक्न सकेको छैन । गङ्गासागर, धनुषा सागर जस्ता पोखरीमा, घाटमा पन्डाल लगाउने काम थालिएको छ । गङ्गासागरको छठ घाटमा भने कोरोना सङ्क्रमणबाट जोगिन मास्क र सेनिटाइजरलाई अनिवार्य गरिएको छ । अन्य पोखरी र तलाउमा पनि कोरोना सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने सतर्कतालाई ध्यान दिन छठ पूजा समितिहरूले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

छठ पर्वको तयारी भइरहेको देखे पनि प्रहरी–प्रशासनले रोकछेक गरेको छैन । घरमै मनाउन अपिल गरेका जिल्ला प्रशासन कार्यालयहरू भने तयारीबारे बोल्न चाहिरहेका छैनन् । जिल्ला प्रशासन कार्यालय, धनुषाका सूचना अधिकारी यमनसुन्दर श्रेष्ठले अपिल जारी गरेर छठ पर्व घरमै मनाउन भनिए पनि त्यसको कार्यान्वयन भएनभएको छठ पर्वकै दिन थाहा हुने बताउनुभएको छ  ।

छठ पर्व मनाउनेहरुले बिहीबार साँझ सक्खरमा पकाएको खीर र रोटी खाएर उनीहरू शुक्रबार दिनभरि भोकै बसी साँझ घर नजिकको घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन  । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइन्छ र पुनः घाटमा पूजाअर्चना गर्ने गरिन्छ । कोरोना कहरबीच पनि छठ पर्वको उत्साह र उमङ्गमा कमी देखिँदैन । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले छठ पर्वलाई सूर्यको आराधना गरेर मनाइन्छ । छठलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठीमइया भनेर पूजा पनि भनिन्छ । जुनसुकै जाति र धर्मका मान्छेले मनाउन सकिने यो पर्व आर्थिक अभाव रहेकाहरूले भिक्षा मागेर पनि मनाउँने गर्दछन । दलित र गैरदलित एउटै थलोमा बसेर श्रद्धापूर्वक यो पर्व मान्ने चलन रहिआएको छ ।