Finance Ministry Photo.jpg

काठमाडौं— अर्थ मन्त्रालयले पहिलो त्रैमासिकमा राजस्व सङ्कलनमा लक्ष्य नजिक पुगेको जनाएको छ । चालु आ.व.२०७७।०७८ को पहिलो त्रैमासिक अर्थात् श्रावणदेखि असोजसम्मको राजस्व र अन्य प्राप्तिबाट १ खर्ब ९७ अर्ब ३३ करोड रुपैयाँ सङ्कलन गर्ने राखेकोमा १ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ । यो लक्ष्यको ९८ दशमलव ७८ प्रतिशत हो । आयकर लक्ष्यभन्दा बढी सङ्कलन भएकाले अन्य माध्यमबाट हुने राजस्व सङ्कलन कम भएता पनि राजस्व असुलीमा सरकारको लक्ष्य नजिक पुगेको छ ।

गत आर्थिक वर्षको यसै अवधिलाई तुलना गर्दा राजस्व र अन्यबाट प्राप्त राजस्व ३ दशमलव शुन्य ९ प्रतिशतले वृद्धि भएको छ । तर यस अवधिमा आयकर लक्ष्यभन्दा धेरै सङ्कलन भएको र भन्सार महसुल, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कतर्फ भने राजस्व असुली कम भएको छ । यो अवधिमा शिक्षा सेवातर्फ सबैभन्दा धेरै कर प्राप्त भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु वर्षको यो तीन महिनाको अवधिमा शिक्षा सेवा कर ७५ दशमलव ४२ प्रतिशतले वृद्धि भएको छ ।

यस चालु आ.वको पहिलो तीन महिनामा अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले सरकारी खर्च वृद्धि भएको छ । यस अवधिमा कुल सरकारी खर्च २ खर्ब १ अर्ब ७ करोड ७१ लाख कुल खर्च भएको छ भने गत आ.व.को यसै अवधिको तुलनामा १२ दशमलव ९६ प्रतिशत बढी देखिएको छ । यस अवधि अर्थात् साउनदेखि असोज मसान्तसम्मको अवधिमा पूँजीगत तर्फ जम्मा १५ अर्ब ६१ करोड रुपैयाँ मात्र खर्च भएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा अहिले १८ दशमलब शुन्य ९ प्रतिशतले बढी हो । यस अवधिमा १ खर्ब ८२ अर्ब ६१ करोड रुपैयाँ चालु खर्च भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १६ दशमलव ५० प्रतिशत बढी छ । वित्तीय व्यवस्थामा भने चालु आ.व.को अघिल्लो तीन महिनाको अवधिमा ३ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ । अघिल्लो आ.व.को यसै अवधिको तुलनामा १८.४१ प्रतिशतले धेरै हो । सरकारले चालु आ.व.का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

देश कोभिड–१९ को महामारीको चपेटामा परेको छ । यस्तो अवस्थामा पनि सरकारले आर्थिक वृद्धिदरको वार्षिक लक्ष्य परिवर्तन गरेको छैन । सरकारले यस आ.व.मा आर्थिक वृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । तर विश्व बैंक र एसियाली विकास बैंकले दुई महिना अघिमात्र नेपालको आर्थिक वृद्धिदर १ दशमलव शुन्य ६ सम्म हुनसक्ने र कोरोनाको महामारी नरोकिए नेपालको आर्थिक वृद्धि दर ऋणात्मक हुनसक्ने चेतावनी पनि दिएको छ ।

गत भदौ मसान्तसम्म देशको मुद्रास्फिर्ति दर ४ दशमलज ५२ प्रतिशत र सोधनान्तर स्थिति ६७ अर्ब ६३ करोड बचत देखिएको छ । तर असोज मसान्तसम्मको सरकारी खर्च भने २ खर्ब रुपैयाँ नाघेको छ । भदौ मसानतसम्म १४ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ करोड विदेशी मुद्रा सञ्चित रहेको छ । यसै अवधिमा विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ भएको छ भने गत भदौ मसान्तसम्ममा आयात १ खर्ब ७८ अर्ब ८५ करोड रुपैयाँ र २० अर्ब ४४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिना अर्थात् साउनदेखि असोज मसान्तसम्ममा ८४ अर्ब ७ करोड १३ लाख रुपैयाँ अन्तर्राष्ट्रिय सहायताको प्रतिवद्धता पाएको छ । यसमध्ये ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ अनुदान हो भने ७७ अर्ब ७१ करोड ६० लाख रुपैयाँ ऋण रकम हो । सरकारले यस चालु आ.व.मा २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लल्य राखेको छ । जसमध्ये पहिलो चौमासिक अर्थात् साउनदेखि कार्तिकसम्ममा ५७ अर्ब उठाउनका लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइसकेको छ भने असोज मसान्तसम्मा ३७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको जनाएको छ ।