Truk Axident Photo.jpg

दाङ– देउखुरीको मौरीघाटमा हिजो मङ्गलबार राती भएको ट्रक दुर्घटनामा परी तीनजनाको मृत्यु हुँदा स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । मृतक तीनैजनालाई ट्रकले ठक्कर दिएकोले कानूनी कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै बिहान १० बजेदेखि सडक अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम आवत जावत गर्ने सवारी साधनहरु बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउन प्रयास गरिएता पनि ट्रक समितिका आधिकारी व्यक्तिहरु नआएका कारण सडक अवरुद्ध भैरहेको छ ।

अवरुद्ध सडक खुलाउने सम्बन्धमा पीडित पक्षलाई क्षतिपूर्ति दिलाउने सम्बन्धमा स्थानीय निकायलगायत कतैबाट खास पहल भएको छैन । घटनास्थलमा स्थानीय वडाध्यक्ष बाहेक अन्य जनप्रतिनिधिहरु पनि आएका छैनन् । उक्त दुर्घटनामा परी मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नं. ५ कालापानीका १६ वर्षका मनोज गाहा, वडा नं. २ लालमटिया निवासी १८ वर्षका कसम पुन र वडा नं.८ पिपरीका १७ वर्षका दिनेश घर्ती हुन् ।

दाङको भालुवाङ लमही सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा राति पश्च्मिदिशाबाट पूर्वतर्फ गैरहेको ना.६ ख ३३४४ नम्बरको ट्रक र रा. ५ प ६७३३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिंदा तीन जनाको घटनास्थलमै मृत्यु हुनुको साथै ट्रक पनि पल्टेको छ । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा लगिएको स्थानीय प्रहरीले जनाएको छ ।