lagani board.jpg

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४५ औं बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख, ५७ मेगावाट क्षमताको हिमचुली दोर्दी जलविद्युत परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत गरेको छ । लगानी बोर्डले तीन वटा परियोजनाका लागि कूल ३८ अर्ब ६५ करोड बराबरको लगानी सर्वसम्मत पारित गरेको छ ।

यसैगरी लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे पनि छलफल भएको थियो । लगानीकर्तालाई एकल बिन्दु सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने बारे तथा नलेज म्यानेजमेन्ट पोर्टलको स्थापना र उपयोग गर्ने सम्बन्धमा पनि छलफल भएको बोर्डले जनाएको छ ।बैठकमा अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत उत्पादन सँगसँगै विद्युत खपतको योजनासमेत सम्बन्धित निकायहरुले मिलेर बनाउनुपर्नेमा जोड दिनुभएको छ । कोभिड–१९ को महामारीका कारण बन्दाबन्दीले नयाँ शिक्षा दिएको बताउँदै उहाँले परियोजना कार्यान्वयनमा भइरहेका काममा हुने बिलम्वलाई हटाउन नयाँ प्रविधिको आवश्यकतामा समेत जोड दिनुभएको छ ।