coat 26.jpg

काठमाडौँ – नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको निर्णयप्रति परेका रिटको निवेदनमाथिको सुनुवाई आज संवैधानिक इजलासमा हुने भएको छ । प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित हुनु भएका बामदेव गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको थियो । निवेदकले प्रतिनिधिसभामा पराजित भएको व्यक्ति मनोनितको कोटामा राष्ट्रियसभामा जानु संविधान, जनमत विपरीत भएको जिकिर गरेका छन् । जनमत, संविधानवाद्, लोकतान्त्रिक मूल्य मान्यता, नैतिक मूल्यका आधारमा नियुक्ति बदर हुनुपर्ने माग रिटमा गरिएको छ । प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले पराजित व्यक्ति मनोनित हुन सक्ने वा नसक्ने भन्ने विषय ‘गम्भीर संवैधानिक व्याख्या’को विषय भएकाले संवैधानिक इजलासबाट निरुपण गर्न आदेश दिएको थियो ।

कोरोना भाइरासको सङ्क्रमणका कारण देखाइ रोकिएको उक्त मुद्दाको सुनुवाई आज हुन लागेको हो । सर्वोच्च अदालतले मुद्दाको पेशी तोकेको छ । सो मुद्धाको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासमा हुँदैछ । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको असोज १४ गतेदेखि संवैधानिक इजलास सुनुवाई सुरु भएको थियो । त्यसपछि कात्तिक १६ गते गौतम पक्षका केही वकिलले बहस गरेपछि ‘हेर्दाहेर्दै’ राखिएको रिटमाथि सुनुवाई हुन सकेको थिएन ।

यसअघि न्यायाधीश आन्दनमोहन भट्टराइको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएपछि संवैधानिक इजलासमा सुनुवाई हुँदाहुँदै रोकिएको रिटको सुनुवाई आज बुधबारका लागि तोकिएको हो । सर्वोच्चले यसअघिको आदेश उल्ट्याउन सक्ने सम्भावना रहेको छ ।