NCP- Photo metting.jpg

काठमाडौं— पार्टी कार्यालय धुम्बाराहीमा आज मङ्गलबार अपरान्ह ४ बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको औपचारिक बैठक बस्ने भएको छ । चरम विवादमा जकडिएको सत्तारुढ दल नेकपाको सचिवालय र स्थायी कमिटीको बैठक बोलाउन अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले इन्कार गरेपछि कार्यकारी अध्यक्ष प्रचण्ड–माधव नेपाल समूहले सचिवालयको औपचारिक बैठक आह्वान गरेको हो । शनिबार २२ गते प्रधानमन्त्री निवास बालुवाटर पुगेर सचिवालयका बहुमत सदस्यहरुले तत्काल सचिवालयको बैठक बोलाउन लिखित रुपमा आग्रह गर्दा त्यसलाई बेवास्ता गरेका कारण आज कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

अघिल्लो साता पनि कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर सचिवालयको बैठक बोलाउने प्रस्ताव गर्दा पार्टी अध्यक्षसमेत रहेका ओलीले ‘सचिवालयको औपचारिक बैठक डाकेमा पार्टी फुटेको घोषणा गर्ने चेतावनी दिएका थिए । यसपछि शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बहुमत सदस्यहरुको अनौपचारिक बैठक बसेको थियो । उक्त बैठकमा गृहमन्त्री रामबहादुर थापा‘बादल’ लगायत ओली निकट उप–प्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल कार्यव्यस्तताको कारण देखाएर सहभागी भएनन् ।

शुक्रबारको उक्त बैठकले भोलिपल्ट अर्थात् २२ गते प्रधानमन्त्री निवास बालुवाटारमा कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँचै सदस्य उपस्थित भएर लिखित रुपमा तत्काल बैठक बस्न आग्रह गरे । तर पार्टीको कार्यकारी अध्यक्ष आफु नै भएको र गुटले गरेको निर्णयलाई आधारमानेर पार्टी सचिवालयको बैठक बस्न नसकिने अभिब्यक्ति दिएपछि पार्टी भित्रको विवाद् झन चुलिंदै गएको छ ।

पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गर्न नसक्दा नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टीको विधान, सिद्धान्त, विचार, कार्यदिशा र चुनावी घोषणापत्रलाई लत्याएर प्रधानमन्त्री एकात्मक सोचले अगाडि बढेको र यसले ठूलो दुर्घटना निम्तिन सक्ने पनि देखिन्छ । पार्टीलाई फुटको सङ्घारबाट जोगाउने अन्तिम अस्त्र भनेको ‘गतभदौ २६ गतेको स्थायी समितिले गरेको निर्णयलाई कार्यान्वयन गर्नु हो’– भन्छन् स्थायी कमिटी सदस्य लिलामणि पोखरेल । तर प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला पार्टीको कुनै पनि बैठक बोलाउने पक्षमा नदेखिएको ओली निकट एक नेताले बनाए । पार्टीलाई फुट्नबाट जोगाउन सबैको उत्तिकै जिम्मेवारी र दायित्व रहेको उनी बताउँछन् ।

आज बस्ने भनिएको सचिवालय बैठकमा सम्भवत ओली निकट नेताहरु र गृहमन्त्री रामबहादुर थापाको पनि उपस्थित नहुने अवस्था छ । तथापि, पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला फुटबाट जोगाउनको लागि पनि पार्टी कार्यालय धुम्बाराहीमा आज सचिवालय बैठक बस्न लागेका एक नेताले बताए । प्रधानमन्त्रीका पछिल्ला गतिविधि र समकक्षी अर्का अध्यक्ष प्रचण्डलाई होच्याएर बोल्न थालेपछि प्रचण्ड–माधव नेपाल समूह चिडिएको अवस्था छ । योसँगै स्थायी कमिटीको बैठकबाट भएका निर्णयहरुमा दस्तखत गर्ने, तर कार्यान्वयन नगर्ने प्रधानमन्त्री समेत रहेका अध्यक्षको कार्यशैलीप्र्रति आजको बैठक केन्द्रीत हुने स्रोतको भनाई छ । आज अपरान्ह ४ बजे बस्ने सचिवालयको बैठकमा उपस्थित हुन सबै ९ जना सदस्यहरुलाई जानकारी गराइसकेको सचिवालयका एक सदस्यले बताए ।

आजको सचिवालय बैठक मुलत प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति केन्द्रीत हुनेछ । दुई अध्यक्षबीचको जस्तो विवाद सतहमा देखिएता पनि मुख्य त सरकारले पार्टीका निर्णयलाई बेवास्ता गर्नु नै हो । पार्टी एकता भएको तीन महिनभित्र सबै एकता प्रक्रिया पुरा गर्ने भनिएता पनि एकता भएको अढाई वर्ष नाध्दा पनि एकताका कामतिर प्रधानमन्त्रीको कुनै चासो देखिएको छैन । यसले पार्टी एकतालाई सङ्कटमा पारेको आमकार्यकर्ताहरुको बुझाइ छ । अहिलेको मुलकुरा भनेको पार्टीको कार्यकारी अध्यक्षको भन्ने नै देखिएको छ । भदौ २६ गते बसेको स्थायी कमिटीले पाँच वर्षसम्म सरकारको नेतृत्व ओलीले गर्ने र पार्टी सञ्चालन कार्यकारी अध्यक्षको अधिकार प्रचण्डले गर्नेब निर्णय भएको थियो । तर अहिले आएर प्रधानमन्त्री ओली त्यो मान्न तयार नहुँदा विवाद उत्कर्षमा पुगेको हो । अहिले देखिएको विवादको चुरो नै पद र शक्ति बाँडफाँड हो । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड–माधव नेपाल समुहले एक अर्कालाई निषेध र अङ्कुश लगाई राख्ने हो भने देश र जनताप्रति ठूलो बेइमानी हुनेछ ।