computer-lab.jpg

काठमाडौं— कोरोना महामारीका कारण चालु शैक्षिक सत्रको आधाभन्दा बढी समय गुज्रिसक्दा पनि विद्यार्थीहरुले विद्यालय गएर औपचारिक रुपमा अध्ययन गर्ने वातावरण बन्न सकेको छैन । कोरोना महामारीकै बीच कतिपय स्थानीय तहले विद्यालय खुलाउन निर्णय पनि लिए तर जोखिम थप बढ्दै गएपनि ती विद्यालय पनि धमाधम बन्द भइरहेका छन् ।

यद्यपी, शैक्षिक सत्र खेर जान नदिनका लागि अनलाइन तथा वैकल्पिक सिकाइ विधिबाट पठनपाठन भइरहेका छन् । एकातिर सबै विद्यार्थीको भर्चुअल सिकाईमा पहुँच पुग्न नसकेका कारण यसको प्रभावकारितामा समेत प्रश्न उठिरहेको छ भने अर्कोतिर विद्यालयहरुले समेत यो शैक्षिक सत्र कसरी पूरा गर्ने भन्नेबारे स्पष्ट खाका पाउन नसकेको नीजि तथा आवासीय विद्यालयहरुको संगठनका प्रतिनिधिहरु बताउँछन् । सरकारले प्रष्ट नीति लिन नसकेका कारण चालु शैक्षिक सत्रको भविष्य के हुने हो भन्ने अन्योलता कायम छ ।

चालु शैक्षिक सत्रको आधाभन्दा बढी समय गुज्रिसकेको छ, तर केही विद्यालयमा वैकल्पिक सिकाइ प्रविधि भर्खरै सुरु भएको छ भने केहीमा त यसप्रति विद्यार्थी र अभिभावकको चासो नै देखिएको छैन । केही विद्यालयले गत वैशाख÷जेठदेखि नै अनलाइन कक्षा सञ्चालन गर्दै आए पनि सबैतिर समान रुपमा कोर्स सञ्चालन र एउटै गतिमा पढाइ हुन नसकेका कारण शैक्षिक सत्रको अवस्था के हुने र कसरी यसलाई पूरा गर्ने भन्नेबारे अलमल उत्पन्न भएको छ ।

यसर्थ कोरोना सङ्क्रमणको यो अवस्थामा एउटै शैक्षिक सत्रमा पढ्नैपर्ने कोर्स पूरा गर्न समस्या हुने भएकाले पनि आगामी चैतमा शैक्षिक सत्र सम्पन्न गर्न कठिनाइ हुने देखिन्छ । यस्तो अवस्थामा अब के गर्ने त भन्ने अन्योलता कायमै छ । सरकारले शैक्षिक सत्रलाई खेर जानबाट जोगाउने हो भने सम्पूर्ण शैक्षिक संस्थाहरुलाई शैक्षिक सत्र चैतमा सक्ने नभै केही महिना पर धकेल्नुको विकल्प छैन । आर्थिक वर्ष कै समयावधिसँग शैक्षिक सत्रको समयावधि मिलान गर्न सके उत्तम हुने मानिन्छ ।

सरकारले आगामी चैत मसान्तसम्म ७० प्रतिशत कोर्स पढाएर शैक्षिक सत्र पूरा गर्ने गरी (सिलेबस डिजाइन) पाठ्यक्रम निर्माण गरेता पनि समस्या र अन्योलताहरु यथावत रहेको छ । वैशाख वा जेठबाट अनलाइन सुरु गरेकालाई त्यो सम्भव छ, तर भदौ असोजमा सुरु गरेका वा अहिलेसम्म अनलाइन कक्षा सुरु नै नगरेकालाई त्यो पनि सम्भव छैन । कतिपय सार्वजनिक विद्यालयहरुले अझै पनि अनलाइन कक्षामा चासो राखेको देखिदैंन । कोरोना महामारी सकिएर आगामी वैशाखदेखि विद्यालयमा पठनपाठन होला भन्ने मान्यता राख्ने हो भने पनि सामुदायिक विद्यालयले चैतसम्म कसरी हुन्छ, कोर्स पूरा गर्नेतर्फ चासो लिनुपर्ने हो तर त्यस्तो देखिएको छैन ।

आगामी चैतसम्म जति सकिन्छ, त्यति पढाएर विद्यार्थीहरुलाई अर्को कक्षामा प्रमोसन दिनुको विकल्प छैन । चालु शैक्षिक सत्रको आधाभन्दा बढी समय बितिसक्दा पनि विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिति हुने वातावरण निर्माण हुन सकेको छैन । कोरोना महामारी फैलिँदो क्रममा रहेका कारण विद्यालयहरु यो शैक्षिक सत्रमा खुल्ने सम्भावना न्यून हुँदै गएको छ । राजनीतिक नेतृत्वदायी भूमिका निर्वाहा गरेकाहरुले पनि शिक्षा क्षेत्रमा देखिएको समस्यालाई गम्भीर रुपमा लिएको बुझिदैंन ।