Oli and Bishnu photo.jpg

काठमाडौ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको सङ्घारमा पुगेर अड्किएको छ । दुई अध्यक्षबीचको संवाद लगभग टुटेको अवस्थामा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष केपी शर्मा ओलीले पूर्व एमाले समुहलाई सङ्गठित गरेर आफ्नो मोर्चा बलियो बनाउन विभिन्न कोणबाट सक्रिय छन् । यसै अनुरुप हिजो २३ गते मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर अध्यक्ष ओलीले झण्डै तीन घण्टा छलफल गरे । त्यहाँ पनि सहमति जुट्न सकेन । अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच कार्तिक ४ गते पनि छलफल भएको थियो ।

उक्त छलफलका क्रममा नेता नेपालले ‘तपाईं जथाभावी राजनीतिक र अन्य नियुक्तिहरु गर्नुहुन्छ, पार्टी भित्र मापदण्ड लागुगर्नुहुन्न, वरिष्ठता, योग्यता र क्षमताको अवमूल्यन गर्दै अन्याय गर्नुुहुन्छ, अनि सहयोग र समर्थन गर्नेकुरा हुन्छ ? सबै समस्याको जड तपाईं नै हो, धेरै समस्या तपाईंबाटै खडा भएका छन् । पहिले आफ्नो कार्यशैली सच्याउनु होस् अनि मेरो सहयोग रहन्छ’ भन्दै अध्यक्ष ओलीलाई सचिवालय भदौं २६ गते स्थायी कमिटीबाट भएको निणर्य कार्यान्वयन गर्न सुझाएका थिए । हिजोको छलफलको सार पनि त्यही रहेको सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओली पार्टीमा अहिले अल्पमतमा देखिन्छन् । पार्टी फुटाएर सबै दोष आफ्नो थाप्लोमा पर्ने हो कि भनेर आफ्ना इतरहरुलाई नै पेल्दै जानेर पार्टी फुटेको दोष प्रचण्ड–माधव नेपाललाई दिन सके आफ्नो इज्जत जोगिने प्रधानमन्त्रीको विश्लेषण हुनसक्दछ । प्रधानमन्त्री ओली सत्ता लम्ब्याउन यो र त्यो बहाना बनाएर कहिले कुन नेतालाई कहिले कुन नेतालाई बोलाउने फकाउने र अल्मल्याउने खेलमा केन्द्रीत भएको बुझिन्छ ।

आजै ओलीले अर्थमन्त्री समेत रहेका पार्टी महासचिव विष्णु पोडेललाई खुमलटार पठाएका थिए अध्यक्ष प्रचण्डलाई भेट्न । विष्णु पौडेलले बालुवाटार पुगेर अध्यक्ष प्रचण्डसँग भएको कुराकानी प्रधानमन्त्री ओलीलाई सुनाए । पछिल्लो समय प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई आफ्ना दूतहरुमार्फत् पटक पटक भेट्न पठाउने गर्दै आएका छन् । सार्वजनिक रुपमा ओलीले प्रचण्डका कारण पार्टीमा विवाद उत्पन्न भएको दाबी गरे पनि भित्र भित्रै प्रचण्डलाई फकाउन आफ्ना ‘दूत’का रुपमा आज बिहान पौडेललाई खुमलटार पठाएका हुन् ।