corona 222.jpg

काठमाडौं – आज मुलुकभरका विभिन्न प्रयोगशालाहरुमा गरिएको पीसीआर परीक्षण गर्दा २ हजार ८ सय १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टिभएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा नयाँ सङक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकामा मात्रै आज १ हजार ५ सय ३३ जना नयाँ सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार २ सय ९४ जना, ललितपुरमा १ सय ६२ जना र भक्तपुरमा ७७ जना कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

योसँगै नेपालभर कोरोना सङ्क्रमितको संख्या एक लाख ९४ हजार ४ सय ५३ जना पुगेको छ । सङ्क्रमित मध्ये १ लाख ५७ हजार ९ सय २६ जना निको भएर घर फर्किसकेका छन् । मुलुकभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४ सय १९ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किएका छन् भने आज २१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किनेका सङख्या १ लाख ५७ हजार ९ सय २६ जना रहेको छ । प्रतिशतमा हेर्दा कोरोना सङ्क्रमणलाई ८१ दशमलव १ प्रतिशतले जितेका छन् । हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय ८ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।