womens-marathun photo.jpg

नेपालगञ्ज– आगामी मङ्सिर ६ गते नेपालगञ्जमा हुने छैठौँ ‘धारा नेपालगञ्ज म्याराथन’ का विजेताले नेपालको तर्फबाट ओलम्पिकका लागि छनौट हुने अवसर पाउने भएका छन् । नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजिव विक्रम शाहका अनुसार आगामी सन् २०२१ मा जापानमा हुने ओलम्पिकमा सहभागी हुन पाउने छन् ।

क्रियटिभ ह्याण्ड्सले नेपालगञ्ज म्याराथनलाई निरन्तरता दिन लागेको हो । अध्यक्ष शाहका अनुसार ‘नेपालगञ्ज म्याराथन’लाई नै नेपालको म्याराथनतर्फको ओलम्पिक छनौटको रुपमा लिइएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै शाहले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता गराउन सुझाव दिए । देशभर कोरोना भाइरसको सङ्क्रमणका कारण विगत आठ महिनादेखि ठप्प भएको खेलकुदले विस्तारै गतिलिन थालेको छ ।

टाइटल स्पोन्सर केएल दुगड ग्रुपका महाप्रवन्धक प्रदीप छाजेड, सहप्रायोजक आशीर्वाद पेन्टसका अध्यक्ष किरण कार्की र राष्ट्रिय बाणिज्य सङ्घका प्रदेश प्रमुख आनन्द सुवेदीले सहकार्यलाई निरन्तरता दिनुका साथै प्रायोजन रकम बढाउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीका अनुसार यसपाली दुई वटा मात्रै इभेन्ट सञ्चालन हुने छन् भने ‘फन रन’का रुपमा ‘कर्पोरेट रन’ पनि समावेश गर्ने तयारी रहेको छ ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौंथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए । त्यस्तैगरी महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी थिइन् ।