kp -madhav Photo.jpg

काठमाडौं– सत्ताको बागडोर हातमा लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद यतिबेला उत्कर्षमा पुगेको छ । तात्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) बीच २०७५ जेठ ३ गते निकै तामझामका साथ पार्टी एकता भयो । दुवै पार्टीका अध्यक्ष नवगठित नेकपाको पनि अध्यक्षको पदमा आसिन नै छन् । एकता भएसँगै पार्टी भित्रको जिम्मेवारी बाँडफाँड र शक्ति सङ्घर्षले पार्टीको तल्ला कमिटीहरुको अहिलेसम्म एकता हुन सकेको छैन । पार्टी एउटै भनिएता पनि दुवै पार्टीको कित्ता फरक देखिन्छ ।

यद्यपि, पार्टी भित्रको विवादले पूर्वएमालेको माधव–झलनाथ समूह पनि प्रधानमन्त्री केपी शर्मा ओलीका कुनै पनि कार्यशैलीप्रति सन्तुष्ट छैनन् । यसले पार्टी भित्र प्रधानमन्त्री ओली अल्पमतमा देखिए पनि उनको कार्यशैली हेर्दा बहुमत नै छ । पार्टीका कुनै पनि शीर्ष नेतालाई कसरी भित्तामा पु¥याउने भन्ने खेलमा सक्रिय देखिन्छन् प्रधानमन्त्री ओली ।

पार्टी भित्रको विवाद समाधान गर्न पटक पटक सचिवालयको बैठक बस्न पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गर्दा पनि पेलेरै अघि बढ्ने सोचमा रहेको बालुवाटार स्रोतको भनाइ छ । कार्तिक २१ गते शुक्रबार कार्यकारी भनिएका अध्यक्ष प्रचण्डलगायत वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बस्यो । उक्त बैठकले तत्काल सचिवालयको बैठक बस्न लिखित रुपमा ओलीसँग आग्रह गर्ने निर्णय गर्यो । हिजो शनिबार अध्यक्ष प्रचण्डसहित पाँचै जना नेताहरु बालुवाटार पुगेर लिखित रुपमा सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरे । तर प्रधानमन्त्री ओलीले आफु विरुद्ध गरिएको गुटको आग्रहलाई बेवास्ता गर्दै सचिवालयको बैठक नडाक्ने जिकिर गरे । बैठकमा चर्काचर्की भएपछि ओली इतर पाँचै जना नेताहरु बालुवाटारबाट बाहिरिए ।

आज प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाललाई बालुवाटार बोलाएर आफ्नो पक्षमा फकाउने प्रयास गरिरहेका छन् । ओली निवास बालुवाटारमा माधव नेपाल पक्षीय नेता स्थायी कमिटी सदस्य डा.भीम रावल र सुरेन्द्र पाण्डेको समेत उपस्थिति रहेको छ । सचिवालय सदस्यहरूबाट आएको मागपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षका नेता भेटेका हुन् । यसअघि कात्तिक ५ र ११ गते पनि अध्यक्ष ओलीले बालुवाटार बोलाएर छलफल गर्दै सहकार्यका लागि वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए ।

हिजो शनिबारमात्र पनि वरिष्ठ नेता नेपालले बालुवाटर मै अध्यक्ष ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि व्यक्त गरेका थिए । पछिल्लो समय अध्यक्ष प्रचण्ड, नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । सचिवालयका नौ सदस्य मध्ये उप–प्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णुप्रसाद पौडेल ओली पक्षधर हुन भने गृहमन्त्री रामबहादुर थापाले आफ्नो कित्ता अहिलेसम्म प्रस्ट्याएका छैनन् ।