fawatal photo.jpg

काठमाडौं – विगत लामो समयदेखिको कोभिड – १९ को प्रकोपको कारण बन्द भएका पर्यटकीय स्थलहरु बिस्तारै सञ्चालनमा आउन थालेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम र लामो लकडाउनका कारण सात महिनासम्म बन्द रहेको पोखराको फेवातालमा डुङ्गा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल बढ्न थालेको देखिन्छ । सञ्चालनको सुरुवाती दिनमा रित्ता डुङ्गाहरु तैरिरहेका देख्न सकिने फेवातालमा अहिले दिनकै दुई सय भन्दा बढी पर्यटकहरु रमाउने गरेका छन् ।

असोज दुई गतेबाट फेवातालमा डुङ्गा सञ्चालनको अनुमति पाएता पनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढिरहेको छ । विगतका वर्षहरुमा दैनिक ८ सय भन्दा बढी आन्तरिक पर्यटकहरु घुम्न जाने फेवातालमा अहिले २ सयको हाराहारीमा पर्यटकहरु आउने गरेका छन् ।

विगतभन्दा संख्यात्मक हिसाबले कम भए पनि लकडाउन पछिको अवस्थामा आन्तरिक पर्यटन केही सन्तोषजनक छ । अहिले देशभरीका मठमन्दिर जस्तै फेवातालबीचमा रहेको तालबाराही मन्दिर बन्द छ । यद्यपी डुङ्गाबाटै मन्दिर परिक्रमा गर्ने आन्तरिक पर्यटकहरुको चहलपहल भने बढ्दो छ ।

अहिले फेवातालमा दैनिक ३५ वटा डुङ्गा सञ्चालनमा छन् । विगतका वर्षहरु जस्तै फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सफल पोखराका पर्यटन व्यवसायीहरु एकजुट भएका छन् । नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्वभर फैलाउन सकेमा बाह्य पर्यटकहरुको आगमन बढ्ने फेवातालका डुङ्गा व्यवसायी समितिका उपाध्यक्षको अनुमान छ ।

फेवातालमा सयर हुने पर्यटक र डुङ्गा चालकहरुले स्वाथ्य सुरुक्षाका मापदण्ड पालना गर्दै फेवाताल भ्रमण गराउने गरेका छन् । प्रयोगमा आइसकेका लाइफ ज्याकेटलाई स्यानीटाइज गरेर पुनः प्रयोगमा ल्याइने गरेको छ । डुङ्गामा भौतिक दुरी कायम गर्ने गरिएको छ ।