weather- photo.jpeg

काठमाडौं– काठमाडौं उपत्यकामा केही दिनदेखि चिसो बढ्ना थालेको छ । आज उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ । हिजो बिहानको तापक्रम १० डिग्री सेल्सियस थियो । दैनिक रुपमा उपत्यकाको तापक्रम घट्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार २१ गते शुक्रबार बिहानको तापक्रम १० दशमलब ४ डिग्री सेल्सियस मापन भएको थियो ।

यतिबेला उपत्यकाका मौसम सफा देखिएको छ । उपत्यकाको आकाश निलो र सफा देखिएको छ । कतै कतै बादलका स–साना ढब्बा देखिएता पनि समग्रमा सफा छ । जाडो मौसम सुरुभएसँगै देशमा विभिन्न भागहरुमा तापक्रम घट्दै जाँदा चिसो बढ्ने र कुहिरो समेत लाग्न थालेको छ । कर्णाली प्रदेशको जुम्लामा तापक्रम माइनसमा झरिसकेको छ । देशको मध्य तथा पश्चिमी क्षेत्रमा आंशिक रुपमा बादल लाग्ने र फाट्ने गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दुई÷तीन दिन केही स्थानमा हल्का वर्षासम्म हुन सक्ने छ ।