oli prachanda photo.jpg

काठमाडौं– सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का असन्तुष्ट पक्ष कार्यकारी अध्यक्ष प्रचण्ड–वरिष्ठ नेता माधव नेपाल समूह आज पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्न बालुवाटार पुगे । उनीहरुको आजको भेटको प्रमुख एजेण्डा भनेको सचिवालय बैठकका निम्ति ओलीलाई सहमत गराउनु हो । यस विषयमा हिजो शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बसी प्रधानमन्त्री ओलीलाई आज शनिबार भेटेर सचिवालय बैठक बस्न लिखित रुपमा आग्रह गर्ने निर्णय गरेका थिए ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पार्टी अध्यक्ष ओलीसँग छलफल भएको छ । उक्त छलफलमा कार्यकारी अध्यक्ष प्रचण्डलगायत वरिष्ट नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको छ । पार्टी फुटबाट जोगाउन प्रचण्ड–माधव समूह जति नरम भएर प्रस्तुत भए पनि ओली पेलेरै जाने मनस्थितिमा रहेको बालुवाटार श्रोतले बनाएको छ । ओलीले पार्टी सचिवालयको औपचारिक बैठक बोलाएको खण्डमा आफुले पार्टी फुटाउने चेतावनी प्रचण्डलाई दिएका थिए ।

अध्यक्ष ओलीले सचिवालय बैठक बोलाउन सहमति नजनाए कार्यकारी अध्यक्ष प्रचण्डले औपचारिक बैठक बोलाउने तयारी गरेका छन् । ओलीले तीन दिन अघि पार्टी फुटाउने दिएको चेतावनीबाट पछि हटेका प्रचण्डले सचिवालय बैठक बोलाएपछि नेकपाको राजनीतिले नयाँमोड लिन सक्ने देखिन्छ ।