former-PM-Dr-Baburam-Bhattarai.jpg

काठमाडौं –‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयप्रति प्रतिवाद गर्न जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आह्वान गर्नु भएको छ । सरकारको निर्णयप्रति डा. भट्टराईले गम्भीर आशंका गर्नु भएको छ । गत ११ गते असोजमा बसेको मन्त्रिपरिषद् बैठकले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा जारी परिपत्रबाट खुलासा भएको थियो । पूर्वप्रधानमन्त्री डा. भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा यसरी लेख्नुभएको ‘यो स्वीकार्य छैन । दालमा कालो छ है ! सबैले प्रतिवाद गरौं ।’

संयुक्त राष्ट्र सङ्घमा देश र राज्यका नाम उनीहरूको संविधान र राज्यप्रणाली अनुरूप हुने आम प्रचलन भएको भन्दै भट्टराईले सोही अनुसार नेपालको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ राखिएको उल्लेख गर्नुभएको छ । नेपाल सरकार, कानून मन्त्रालयबाट गत असोज २८ गते जारी गरिएको परिपत्रमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टामाा अबदेखि ‘नेपाल’ मात्र लेख्नुपर्ने उल्लेख छ । त्यसैगरी, अंग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनइपीएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको कानून मन्त्रालयको परिपत्रमा उल्लेख छ ।