काठमाडौं — झिलिमिलि र सप्तरङ्गीको विशेष पर्व, नेपालीहरुको दोस्रो महान् चाड तिहार अर्को साता सुरु हुँदैछ । तिहार भन्ने बित्तिकै दाजुभाइ–दिदीबहिनीसँगको रमाइलो र अविष्मरणीय भेटघाट, झिलिमिली बत्ती, मीठा–मीठा सेलरोटीका परिकार र गुर्धौली, सयपत्री र मखमली फूलहरुले शरद ऋतुको गरिमा बढाएको छ । न जाडो न गर्मी । उत्तर तिर हेर्दा चाँदी झै टलक्क टल्किएका हिमशिखर, पहाडका पाटा र तराईका फाँटमा पहेँलपुर लटरम्म धानका बाला भुलेका छन् । सफा र रमणीय वातावरण, माथि हेर्यो निलो आकाश । कति मनमोहक र सौदर्य छ श्रृष्टिको लिला । यो रौनकले हामी सबैको मानसपटलमा नै उर्जा थपिदिएको छ ।

यो साल मलमासका कारण नेपालीका दशैं–तिहार, छठ जस्ता हरेक चाडहरुलाई एक महिना पर धकेलिएको छ । तर पनि नेपालीहरु आफ्नो धर्म, संस्कृति र परम्परामा रमाउन पाउँदा गर्वानुभूति गर्दछन् । एकमहिना पछि धकेलिएको तिहारलाई मनमोहक बनाइदिने सयपत्री र मखमली पूmल ओइलाउने हो कि भनेर पुष्प व्यवसायीहरु चिन्तित देखिएका थिए । तर प्रकृतिको चक्र न हो, मौसमले पनि केही राहत दिए जस्तो भएको छ पुष्प व्यापारीहरुलाई । तिहार भन्ने वित्तिकै फूलकै चर्चा हुन्छ । गत वर्ष देशभरका ठूला सहरमा झण्डै २५ लाख तयारी माला खरिद बिक्री भएको पुष्प व्यापार सङ्घले जनाएको छ । यस वर्ष कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण फूलका मालाको माग घट्ने फूल व्यापारीहरु बताउँछन् ।

यस वर्षको तिहारमा भाइटीका लगाउन आवश्यक फूल नेपालमै फूलेको पुष्प व्यवसायीहरुले बताएका छन् । राजधानीलगायत देशका शहर बजारमा फुलको बजार लाग्न सुरु भएको छ । कार्तिक २८ गतेबाट तिहारको रौनक गाउँदेखि सहरसम्म छचल्किन थाल्दछ । दिदी बहिनीको हातबाट सप्तरङ्गी टीका र सयपत्री र मखमलीका माला ग्रहण गर्नु तिहारको सबैभन्दा महत्वपूर्ण पाटो हो । जसलाई भाई टिका भनिन्छ । दाजुभाईको सु–स्वास्थ्य र दीर्घजीवनको निम्ति दिदी बहिनीहरुबाट टिका लगाइन्छ । यो पर्व नेपालीहरुको धर्म, संस्कृति र परम्पराको आधारस्तम्भ पनि हो ।

तिहारकै लागि भनेर भारतबाट वर्षेनी ठूलो परिमाणमा सयपत्री र मखमली फुल आयात हुन्थ्यो । गत वर्ष भारतबाट तीन लाखको हाराहारीमा माला आयात भएको व्यापारीहरु बताउँछन् । सामान्य अवस्थामा फूलको कूल मागको धेरै हिस्सा स्वदेशी उत्पादनले नै धानेकाले यस वर्ष कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण भारतबाट फूल आयात निकै कमी हुने पुष्प व्यवसायीहरु बताउँछन् । हरेक वर्ष ठूलो परिमाणमा नेपाल भित्रिने बेलहिया नाकाबाट यस वर्ष फूलको कारोबार शून्य छ । गत वर्ष यतिबेला फूलको कारोबार निकै बढ्ने भएपनि अहिले नाकाबाट तिहारलक्षित फूल आयात शून्य रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

सरकारी तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४\०७५ मा नेपालमा झण्डै १० करोड रुपैयाँ बराबरको फूल आयात भएको थियो । यस्तै २०७५\०७६ मा १९ करोड रुपैयाँ बराबरको फूल आयात भएको थियो । आर्थिक वर्ष २०७६र \०७७ मा झण्डै १० करोड रुपैयाँभन्दा बढीको फूल आयात भएको भन्सार विभागले जनाएको छ ।

हावापानीका कारण फूल उत्पादनका लागि नेपाल उपयुक्त स्थान मानिन्छ । तर पनि हरेक वर्ष भारतबाट आउने फूलले नेपाली बजारमा रामै्र हिस्सा जमाएको छ । नेपालमा व्यवसायिक रुपमा फूलको उत्पादन गर्ने हो भने यसले आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान दिन सक्नेमा कुनै सन्देह छ्रैन । विकास र प्रविधिको उच्चतम प्रयोगका कारण मानिसहरुको सौखमा परिर्वतन आएको छ । जस्लेगर्दा नेपाली चाड पर्वलाई लक्षित गरेर अमेरिका, चीनलगायत विश्वका विभिन्न देशहरुबाट फूलहरु भित्रने गरेको भन्सार विभागले जनाएको छ । यद्यपि नेपालमा धेरै मात्रामा फूल निर्यात भारतले नै गर्छ । प्रणय दिवस, तिहार र शिवरात्रीमा भारतबाट बढी मात्रामा नेपालमा फूल आयात हुने गर्दछ ।