bidhya n manoj Photo 123.jpg

भारतीय सेनाप्रमुख मनोजमुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमण गरी आज स्वदेश फर्कदै छन् । नरवणे नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्राणमा तीन दिने भ्रमणका लागि कार्तिक १९ गते नेपाल आएका थिए । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्सा जारी गर्ने वित्तिकै उत्तरी छिमेकी देश चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको भन्दै उत्तेजित अभिव्यक्ति दिएका नरवणेको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेर्नु पर्ने हुन्छ । नेपाल र भारतमासमेत कोरोना भाइरस सङ्क्रमणको महामारी फैलिरहेको बेला यसरी नरवणे नेपाल आउनुको अर्थ विभिन्न कोणबाट हेर्न थालिएको छ । हुन त प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्राणमा नेपालको मानार्थ महारथीको दज्र्यानी थाप्न आएको भनिएता पनि यस भित्र नेपाली राजनीतिलाई प्रभाव पार्ने अस्त्रको रुपमा प्रयोग गरिएको राजनीतिक विश्लेषकहरुको बुझाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बिहीबार शीतल निवासमा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई एक विशेष समारोहको आयोजना गरी नेपालको मानार्थ महारथीको दज्र्यानीबाट विभूषित गर्नु भएको थियो ।

नेपालकोे लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो दावी गरेपछि दुई देशबीच चर्को मतभेद उत्पन्न भएको थियो । त्यसपछि नेपाल र भारतकाबीच संवादहिनताको अवस्थामा रहेको परिवेशलाई चिर्दै दुई हप्ता अघिमात्रै भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीलाई भेटेपछि नेपाली राजनीतिलाई तरङ्गित बनाएको छ । त्यसलगतै नेपाल र भारतबीचको सीमा समस्या सम्बन्धी बैठक पनि बस्ने सार्वजनिक भएको थियो । योसँग भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमण भारतीय पक्षका रणनीतिक योजना हो भन्दा अत्युक्ति नहोला ।

नेपालले जारी गरेको नयाँ नक्सालाई अमेरिकामार्फत संयुक्त राष्ट्रसंघले स्वीकार गरेपछि भारतलाई मनोवैज्ञानिक रुपमा दवाव परेको आङ्कलन गर्न सकिन्छ । पछिल्लो समय भारतीय गुप्तचरी संस्था ‘रअ’ का प्रमुख र भारतीय सेनाप्रमुख नेपाल आउनुलाई नेपालसँग चिसिएको सम्बन्ध सुधार गर्ने प्रयत्न गरेको राजनीतिक वृत्तमा चर्चा गर्न थालिएको छ । चिसिएको सम्बन्ध सुधारगर्दा नेपालको राजनीतिमा विस्तारै पुनः चलखेल गर्न सकिने भारतीय संस्थापन पक्षको बुझाइ छ । अहिले ‘रअ’ का प्रमुख र सेनाप्रमुखको नेपाल भ्रमणलाई यसैको कसी मान्न सकिन्छ । सीमा विवादका कारण नेपाल–भारतबीच चिसिएको सम्बन्धलाई सुधार गर्न भारतीय सेनाप्रमुखलाई औपचारीक रुपमा नेपालमार्फत् बोलाउन दुवै देशका प्रधानमन्त्रीबीच अनौपचारिक छलफलबाट तयभएको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ । विशेष चीन र भारतबीच सीमा क्षेत्र लद्दाखमा उत्पन्न विवाद, अमेरिका र पश्चिमा देशहरुसँगको रक्षा र सामरिक विषयमा बढाइएको सम्बन्ध र नेपाल चीनबीचको मित्रवत सम्बन्धलाई केही मन्थर बनाउन भारतीय पक्ष अत्यन्त सजगताका साथ नेपालको राजनीतिमा भारतले पुनःआफ्नो स्पेश बनाउन खोजेको छ । पछिल्लो समयमा भारतीयहरुको नेपाल भ्रमणले यही कुरालाई सङ्केत गर्दछ ।

भारत र अमेरिकाबीच रक्षा र भू–राजनीतिक सम्बन्धमा देखिएको नयाँ आयाम र नेपालमा भएका राजनीतिक उतारचढावलाई जोडेर भारतले नजिकबाट नियाल्न थालेको छ । भारतीय उच्च पदाधिकारीहरुको एकाएक नेपाल आगमनको महत्वपूर्ण पाटो पनि यही हो भन्न सकिन्छ । पछिल्लो समय सीमा विवादका कारण नेपाली राजनीतिमा आफ्नो पकड गुमाएको आभाष भएकोले भारतले कुन तरिकाबाट नेपाली राजनीतिलाई मथिङ्गल बनाएर आफ्नो पकड पुनः विस्तार गर्न सकिन्छ भन्नका लागि पनि ‘रअ’ र सेना प्रमुखको नेपाल भ्रमण गराएको विश्लेषण गरिएको छ ।

विश्व राजनीतिमा देखिएको परिवर्तन र एसियाली देशहरुमा भैरहेको आर्थिक र सामरिक विकासलाई विशेष गरी अमेरिकाले कुनै न कुनै रुपबाट तहसनहस बनाउन चाहेको छ । यसमा वैभबशाली मानिएको अमेरिकाका निम्ति चीन र भारत टाउको दुखाई बन्ने देखेर उसले भारतमार्फत् नेपालमा आफ्नो वैभबको प्रवेश गराउन प्रयत्न गरिरहेको छ । नेपालमा भारतीय उच्चअधिकारीहरुको अहिलेको भ्रमणको चुरो कुरो पनि यही हो ।