book photo.jpg

काठमाडौं– यस वर्षको शैक्षिक सत्रमा बिक्रीवितरण गर्न प्रकाशित गरिएका विद्यालयका पाठ्यपुस्तक गोदाममै थन्किएका छन् । निजी प्रकाशन गृहले निजी विद्यालयका लागि तयार गरेका ६५ प्रतिशत पुस्तक प्रकाशक तथा वितरकको गोदाममै थन्किएर बसेका छन् भने सरकारी विद्यालयका विद्यार्थीका लागि सरकारले निःशुल्क वितरण गर्ने पाठ्यपुस्तक पनि सरकारी विद्यालयमै थन्किएका छन् ।

सरकारले निःशुल्क उपलब्ध गराउने विद्यालयका पाठ्यपुस्तक समेत विद्यार्थीसम्म पुगेका छैनन् । काठमाडौं उपत्यकाकै सरकारी विद्यालयमा पाठ्यपुस्तक थन्किएका छन् । जनक शिक्षा सामग्री केन्द्रबाट बिक्री भए पनि विद्यालयमा पुगेका सबै पुस्तक विद्यार्थीको हातमा पुग्न सकेका छैनन् । अघिल्लो वर्षको विद्यार्थी संख्याका आधारमा सरकारले विनियोजन गरेको रकमअनुसार, विद्यालयले पुस्तक किनेका छन् ।

कोभिड–१९ को बढ्दो महामारीका कारण गत चैतदेखि देशभरका विद्यालयहरु सञ्चालनमा आउन सकेका छैनन् । जसले गर्दा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि तयार गरिएका पाठ्यपुस्तक प्रकाशन गृह, वितरक र खुद्रा विक्रेताहरुको गोदाममा नै थन्किएका हुन् । सरकारी विद्यालयमा पनि विद्यार्र्थीहरु पाठ्यपुस्तक लिन नआएपछि काठमाडौं उपत्यकाका सरकारी विद्यालयका पाठ्यपुस्तकसमेत विद्यालयकै गोदाममा थन्किएर बसेका छन् ।

सरकारले आगामी सैक्षिक वर्षको केही कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको छ । यदि नयाँ पाठ्यक्रम लागू भएमा प्रकाशन गृहहरूले ठूलो क्षति बेहोर्नुपर्ने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका अध्यक्ष मनहरी बस्याल निजी विद्यालयका लागि तयार पारिएको पाठ्यपुस्तक यस वर्ष ६५ प्रतिशत पनि बिक्री नभएको बताउँछन् । अध्यक्ष बस्यालले भने ‘प्रकाशन गृह, वितरक र खुद्रा विक्रेताको गोदाममा गरी कक्षा १ देखि कक्षा १० सम्मका तीन लाखभन्दा बढी सेट पुस्तक थन्किएका छन्’ ।

कक्षा १२ सम्मका पाठ्यपुस्तक प्रकाशन गर्नका लागि पाठ्यक्रम विकास केन्द्रमा ७६ प्रकाशन गृह सूचीकृत छन् । प्रायः सबैका पुस्तक गोदाममै थन्किएर बसेको छ । अध्यक्ष बस्यालले भने, ‘छपाइ भएर वितरण गर्न तयारी अवस्थामा लकडाउन भएपछि पुस्तक बिक्री हुन पाएन, कोरोनाका कारण प्रकाशन गृहलाई नै धरासयी बनायो ।’ आत्मनिर्भर हुन लागेको प्रकाशन क्षेत्र कोरोनाले तहसनहस भएको प्रकाशन गृहका सञ्चालकहरुको भनाइ छ ।

कोरोनाका कारण झन्डै ५० प्रतिशत विद्यार्थी विद्यालय नपुगेको र अनलाइन कक्षामा पनि नजोडिएका कारण पुस्तक बिक्री नभएको उनको भनाइ छ । दुई ÷तीनवटा बच्चा भएको परिवारमा अनलाइन पढाइका लागि स्मार्ट फोन र इन्टरनेट जोड्न कम्तीमा ५०–६० हजार खर्च हुने भएकाले पनि धेरै विद्यार्थीले कक्षा नलिएको पाइएको छ । केहीले पुरानै पुस्तक प्रयोग गरेकाले पनि नयाँ पाठ्यपुुस्तक बिक्री नभएको जनाएको छ ।

सरकारले २०८० सम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको छ । त्यसै योजनाअनुसार, यो वर्ष कक्षा १ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएको छ । आगामी वर्ष कक्षा २, ३ र ६ मा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ ।

आगामी वर्षमा नयाँ पाठ्यक्रम लागू भएमा यो वर्ष बिक्री नभएका कक्षा २, ३ र ६ का पाठ्यपुस्तक खेर जाने र झन्डै एक अर्ब रुपैयाँ बराबर क्षति ब्यहोर्नुपर्ने अवस्था आउनेछ । अध्यक्ष बस्यालले भने, ‘सरकारले हामीलाई सपोर्ट गरे नेपाली प्रकाशन गृह बाँच्न सक्छ, नगरे ७० प्रतिशत बन्द हुन्छन् र फेरि विदेशीको दबदबा हुन थाल्छ ।’