TUTH hospital Photo.jpg

काठमाडौं – शिक्षण अस्पताल महाराजगञ्जमा लेखा अधिकृतका पदमा कार्यरत राजाराम इटनीले उपचार नपाएर ज्यान गुमाएका छन् । धादिङ घर भएका राजाराम दसैंमा श्रीमतीका साथ गाउँको घर पुगेका थिए । काठमाडौंमा कोरोना भाइरसको महामारी फैलिरहेको बेला सार्वजनिक यातायात सुरक्षित नदेखेर श्रीमान श्रीमती मोटरसाइकलमा घर गए । दसैं मनाएर जब उनी काठमाडौं भित्रिए । बिरामी भए । बिरामी भएकोले केही दिन बिदा लिएर घर बस्ने निर्णय गरे । तर उनी बिरामी निको हुनुभन्दा थलिंदै गए । अब अस्पताल नगै हुँदैन भन्ने बुझेर आफु कार्यरत अस्पताल त्रिविवि शिक्षण अस्पताल महाराजगञ्ज पुगे १७ गते सोमबार साँझ । अस्पताल पुग्दा उनको अवस्था गम्भीर भइसकेको थियो । तत्कालै राजारामलाई आइसीयूमै भर्ना गर्नु पर्ने अवस्था थियो । तर अस्पतालमा आइसीयू बेड खाली नभएका कारण त्यो सुविधाबाट अस्पतालकै कर्मचारी बञ्चित हुनुपर्यो ।

जसरी पनि उनलाई आइसीयूमा राख्नै पर्ने अवस्थामा पुगेका राजारामका निम्ति उनको परिवारले राजधानीको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पताल, कलङ्कीस्थित सहिद मेमोरियल अस्पताललगायत विभिन्न अस्पतालमा आइसीयू बेड खोज्न लागि परे । तर आइसीयू बेड नपाए पछि अन्ततः परिवारले काठमाडौंकै बुढानिलकण्ढस्थित करुणा अस्पतालमा बेड उपलब्ध भयो । त्यसपछि राजारामलाई अइसीयूमा भर्ना गरियो । आफ्नो कर्मचारीको अवस्था प्रति त्रिविवि शिक्षण अस्पताल खासै सम्बेदनशील नभैदिंदा उनको स्वास्थ्यस्थिति अत्यन्तै खराब बन्दै गयो । राजारामलाई करुणा अस्पताल पुर्याउँदा उनी जीवनमरणको दोसाँधमा सङर्घषरत थिए । परिवारले उनलाई अस्पताल त पुर्याए । तर उनलाई बचाउन सकेनन् । आइसीयूमा भर्ना भएको केही समयपछि नै उनले देहत्याग गरे । झण्डै तीन दशकसम्म त्रिविवि शिक्षण अस्पतालमा कार्यरत रामराजाले समयमै उचित उपचार र आइसीयू बेड नपाउँदा ज्यान गुमाउनु पर्यो । उपत्यकामा दिन दिनै कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्दै जाँदा अस्पतालहरुका आइसीयू र भेन्टिलेर भरिभराउ हुन पुगेका छन् । सङ्क्रमणले स्वास्थ्य स्थिति जटिल अवस्थामा पुगेका नागरिकहरु धेरैले ज्यान गुमाउनु परेको छ । नेपालको संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सुविधाबाट नागरिक यसरी बञ्चित भै अकालमै ज्यान गुमाउनु पर्दाको पीडा प्रति सरकार गम्भीर कहिले हुने ??