kp pra.jpg

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढ्दै जाँदा पूर्व एमाले र पूर्व माओवादीबीच ध्रुवीकरणको पहल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका केही नेताहरु यस्तो ध्रुवीकरणमा सक्रिय भएका छन् । ओलीका दूत बनेर केही दोस्रो तहका नेताहरु रातारात सक्रिय बनिरहेका छन् । ओलीको विरोधमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष वामदेव गौतम समेत देखिएपछि केही नेताहरु उनीहरुलाई मनाउन लागेका छन् । उनीहरुले पूर्व एमालेबीच एकतामा जोड दिइरहेका छन्

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहमतिमा ल्याउन खोजेका छन् । उनले पूर्व एमालेबीचको एकतामा जोड दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि यसै हप्ता वामदेव गौतमलाई शितलनिवास आमन्त्रित गरी सहमति गराउन खोज्नु भएको छ । केपी ओलीले पूर्वमाओवादी भित्रको पातलो मसाल समूहलाई आफ्नो पक्षमा तान्न सफल भएको ओली गुटको दावी छ । पातलो मसालको नेतृत्व गर्दै मोटो मशालमा आएका हरिवोल गजुरेलसहित टोपबहादुर रायममाझी, मणि थापा र दिनानाथ शर्मा ओली समूहमा लागेको श्रोतको दावी छ । त्यसैगरी पूर्व माओवादीका नेताहरु लेखराज भट्ट र प्रभु शाह पनि ओली गुटमा गाँसिएका छन् ।

अर्का अध्यक्ष प्रचण्ड भने माधवकुमार नेपाललाई महत्वपूर्ण पद दिन सहमत भएर पनि ओलीलाई एक्लो बनाउन लागिपरेका छन् । नेपाललाई प्रधानमन्त्री दिने सम्मको प्रस्ताव प्रचण्डले गरिसकेको बुझिएको छ । तर, ओलीले नेपाललाई भावी अध्यक्ष बन्न साथ दिने गरी सहमतिमा ल्याउन खोजेका छन् । अहिले माधव नेपाल दुवै पक्षको तानातानमा परेका छन् ।

नेकपाभित्र एउटा समूह पूर्व एमालेको एकतामा जोड दिइरहेको छ । प्रचण्डलाई एक्लाएर अप्ठ्यारो पार्ने उनीहरुको रणनीति छ । त्यस्तो अवस्थामा पार्टी पनि नफुट्ने र ओलीको सत्ता संकट पनि टर्ने बुझाई उक्त समूहको छ । ओली पक्षले प्रचण्डलाई ट्रयापमा पारिसेको बुझाईका आधारमा पकड बलियो बनाउने प्रयास जारी राखेको छ । उनीहरुका लागि प्रचण्डभन्दा ठुलो चुनौती माधव नेपाल देखिएका छन् । ओली पक्षका सांसद महेश बस्नेतले प्रचण्ड र वामदेव गौतमलाई साइजमा ल्याइसकेको बताइसकेका छन् । तर, नेपाल भने बलियो बन्दै जाँदा चुनौती बढेको छ ।