thankot.jpg

काठमाडौं —मकवानपुरको पर्यटकीयस्थल थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङ–थानकोट सडक आजदेखि बन्द भएको छ । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले सार्वजनिक सूचना जारी गरेर सो मार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

गणेशमान सिंह मार्गअन्तर्गत चन्द्रागिरि–थानकोट सडक खण्डमा सडक फराकिलो पार्ने, बेस मिलाउने, रेडियस मिलाउने, कटिङ गर्नेजस्ता कार्य भइरहेको र सो क्रममा सेतो पहरा भन्ने ठाउँमा कटिङको कार्य भइरहेकाले सवारी आवागमन बन्द गर्नु परेको सरोकार समितिका सदस्यले जानकारी दिएका हुने ।

वि.सं २०७१ सालमा सडक स्तरोन्नति सम्बन्धी निर्माण कम्पनीसँग सम्झौता भएता पनि पटक–पटक म्याद थप्दा समेत काम सम्पन्न हुन नसकेपछि स्थानीयवासीले ठेकेदारमार्फत् काम गराइरहेका छन् । पछिल्लो पटक स्थानीयवासीद्धारा स्वःस्फूर्त रुपमा सरोकार समिति बनाएर समितिकै निगरानीमा चन्द्रागिरि–थानकोट सडक खण्डमा स्तरोन्नतिको कार्य भइरहेको छ ।