अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनाव जितिसकेको दाबी गर्नुभएको छ । ह्वाइट हाउसमा आफ्ना सर्मथकहरुलाई सम्बोधन गर्दै उहाँले आफूहरु ठूलो जितको क्रममा रहेको जनाउनु भएको हो । उहाँले भन्नुभयो, ‘हामी चुनाव जित्ने तयारीमा छौँ । वास्तवमा भन्दा हामीले जितिसकेका छौँ, चुनावमा धाँधली भएको छ । हामी कानूनको पूर्ण पालना गराउन लाग्नेछौँ । सर्वोच्च अदालत जानेछौँ । चार बजेपछि आएका कुनै पनि मत गणना हुन दिनेछैनौँ ।’
उहाँले चुनावको अन्तिम नतिजा नआउँदै जितको घोषणा गर्नुभएको हो । उहाँले अहिले मतगणना भइरहेका राज्यमा डेमोक्र्याटले धाँधली गरेको आरोप लगाउनु भएको छ । तर अहिलेसम्म ट्रम्पले दाबी गरेजस्तो धाँधलीको कुनै प्रमाण आएको छैन । उहाँले मतगणना भइरहेका राज्यमा पनि आफू विजयी भएको दाबी गर्नु भएको छ । पेनसिलभेनिया, विस्कनसिन, जर्जा, एरिजोना, नेभाडा, नर्थ क्यारोलाइना, मिसिगनसहितका राज्यमा पनि आफूले जितेको ट्रम्पको दाबी छ ।
एरिजोना र नेभाडामा बाइडेन अघि रहेका छन् । ती राज्यमा मतगणना जारी रहनु पर्ने उहाँको दाबी छ । तर आफू अघि रहेका अरु राज्यमा मतगणना रोकिनु पर्ने आशयको ब्यक्त गर्दै उहाँले आफू पराजित भएमा सर्वोच्च अदालत जाने चेतावनी दिनुभएको छ ।अमेरिकाको राष्ट्रपति निर्वाचित हुनका लागि ५ सय ३८ इलेक्ट्रोल कलेज मतमध्ये २ सय ७० मत प्राप्त गर्नुपर्छ ।अहिलेसम्म आएका नतिजा तथा अग्रताहरुमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन साँघुरो अग्रतामा छन् ।
द न्यूयोर्क टाइम्सका अनुसार बाइडेनको पक्षमा २ सय २५ तथा ट्रम्पको पक्षमा २ सय १३, रोयटर्सका अनुसार बाइडेनको पक्षमा २ सय २० तथा ट्रम्पको पक्षमा २ सय १३ र द गार्डियनका अनुसार बाइडेनको पक्षमा २ सय २५ तथा ट्रम्पको पक्षमा २ सय १३ मत रहेको छ । चुनावमा विजयी हुने सम्भावना दुवै उम्मेदवारको रहेको छ ,तर ट्रम्पले औपचारिक सम्बोधनमा आफू विजयी भएको घोषणा गरी पराजित भएमा सर्वोच्च अदालत जाने बताउनु भएको हो ।