कृषिमन्त्री घनश्याम भुसालले जिम्मेवारी लिएर काम नगर्ने पदाधिकारीहरुमाथि निर्ममतापूर्वक कारवाही गर्ने चेतावनी दिनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद्को व्यवस्थापन तहका अधिकारीहरुसँगको अन्तरकृयामा कृषिमन्त्री भुसालले ‘जिम्मेवारी पुरा गर्न नसक्ने हो, काम गर्न नसक्ने हो भने छोडिदिनुस्, होइन भने काम गर्नुपर्छ, परिणाम दिनुपर्छ । अब कुनै बहानावाजी होइन, परिणाम चाहिन्छ, विनापूर्वाग्रह निर्ममताका साथ काम गर्नुस् र परिणाम दिनुस् ,परिणाम दिन नसक्ने भए छोड्नको लागि तयार हुनुस् ’ भन्नुभएको हो ।
आफू कृषि क्षेत्रको चौकीदार भएको बताउँदै मन्त्री भुसालले–‘म कृषि क्षेत्रको चौकीदार हुँ । कसैले यसभित्र पसेर बदमासी गर्न खोज्छ, तपाईंहरुलाई गलत काम गर्न दवाव दिन्छ भने मैले गेटबाटै तह लगाइदिन्छु । त्यसो भएपछि तपाईंहरुले त प्रभावकारी रुपमा काम गर्नु पर्यो नि ’भन्नुभयो । उहाँले उत्पादनशील र सृजनशील कर्म कृषि भएकोले धर्तीका सबैभन्दा सुन्दर मानिसहरुले मात्रै कृषि पेशा अपनाउने गर्दछ भन्दै त्यसलाई प्रदुषित गरिएकोले अब कुनै पनि हालतमा शुद्धीकरण हुनु पर्ने बताए । सबैभन्दा बढी देश बिगारेको राजनीतिज्ञहरुले हो, तर त्यसमा कर्मचारीहरुको भूमिका पनि कम्ति छैन भन्दै भुसालले कृषिमा राजनीति क्षेत्रबाट हुने हस्तक्षेप पुरै रोकिने दाबी गर्नुुभएको छ ।