काठमाडौं — काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्छ भन्दै सार्वजनिक स्थान र सडकमा जथाभावी लाइन लगाएर खाना खुवाउने काम बन्द गर्न अभियान्ताहरुलाई आग्रह गरेका छन् । उनले सडक किनारमा बस्ने श्रमिकहरुकै कथा–व्यथा बेचेर काठमाडौंलाई मागीखानेहरुको सहर भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने हाम्रो चाहना छ’ भनेका छन् ।
महानगरपालिकाका मेयर शाक्यले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेका छन् । अभियान्ताहरुले कोरोना महामारीबाट चपेटामा परेका मजदुरहरुका लागि लकडाउनको समयदेखि नै खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेका छन् । महानगरपालिकाले आफ्नो बेइज्जत भएको भन्दै रोक्न भनेपछि चौतर्फी आलोचना भइरहेको छ ।
कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामथ्र्य र सिपको आधारमा रोजगारी दिने र जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ अनुसार सातामा कम्तीमा दुई दिन ज्यालादारीमा सार्वजनिक पार्क संरक्षण तथा हरियाली विकास,सरसफाई तथा फोहोरमैला व्यवस्थापन लगायतका काम दिने उनले बताएका छन् । मेयर शाक्यले भने, कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही महानगरवासी हुनुहुन्छ भने आफू बसेको वडा कार्यालयमा सम्पर्क गर्नुस्, भोकै बस्न नपर्ने गरी सहयोग गर्न महानगरपालिका प्रतिवद्ध छ ।’