Rastriya-Pariksha-Board-Nep1.jpg

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को संक्षिप्त पूर्णाङ्कका नमुना प्रश्नपत्र सार्वजनिक गरेको छ । बोर्डले आगामी मंसिर ९ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा ४० प्रतिशत मूल्याङ्कनका लागि नमुना प्रश्नपत्र सार्वजनिक गरेको हो । बोर्डले सैद्धान्तिक परीक्षाको नम्बरलाई सतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मात्रै मूल्याङ्कनका लागि परीक्षा लिने भएको छ । विद्यार्थीको ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारलाई लिइने र २० प्रतिशत आन्तरिक मूल्याङ्कन हुने गरी कार्यविधि तयार गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण स्थगित हुन पुगेको कक्षा १२ का विद्ययार्थीहरुलाई ४० प्रतिशत मूल्यांकनका लागि बोर्डबाट परीक्षा लिइने र विद्यार्थीमा अन्योलता नहोस् भनेर राष्ट्रिय परीक्षा बोर्डले नमुना प्रश्नपत्र सार्वजनिक गरेको छ । बोर्डले धेरै विद्यार्थी संख्या हुने विषयको नमुना प्रश्नपत्र वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

परीक्षाका लागि प्रश्नपत्र पुरानै मोडेलमा सोधिएता पनि प्रश्नहरूको संख्या घट्नेछन् भने प्रश्न सोधिने समूह पहिलेको जस्तै भए पनि परीक्षा डेढ घन्टा मात्र सञ्चालन हुने भएकाले प्रश्नको संख्या घटाइएको छ । विद्यार्थीको समग्र ज्ञानलाई समेट्ने गरी प्रश्नपत्र निर्माण हुँदै छन् । यस वर्ष कक्षा १२ को परीक्षा फारम भरेका सबै माध्यमिक विद्यालयमा परीक्षा केन्द्र भएका छन् । देशभरमा कक्षा १२ को परीक्षाका लागि चार हजार एक सय पाँच परीक्षा केन्द्र कायम भएका छन् ।

यसअघि गत ८ वैशाखमा सञ्चालन हुने कार्यतालिका रहे पनि कोरोना भाइरसको जोखिम बढेपछि परीक्षा स्थगित भएको थियो । बोर्डले कक्षा १२ को परीक्षा बिहान ८ देखि साढे ९ बजेसम्म डेढ घन्टा सञ्चालन गर्ने भएको छ । बोर्डले हिमाली क्षेत्रमा प्रश्नपत्रको ‘हार्डकपी’ पठाउने र अन्य क्षेत्रका विद्यालयमा इमेलमार्फत प्रश्न पठाउने तयारी गरेको छ । परीक्षामा नमुनाप्रश्नमा सोधिएका प्रश्नपत्रको युनिट तथा च्याप्टर एउटै नभई फरक फरक हुन सक्नेछन् ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी आफैँले पढेको विद्यालयमा पुगेर जाँच दिन सम्भव नभएमा अहिले विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयमा गई परीक्षा दिन मिल्ने व्यवस्था गरेको छ । काठमाडौं उपत्यकाभित्रका जिल्लामा भने विद्यार्थी आफैँले पढेको विद्यालयमा परीक्षा दिन जानुपर्छ । बोर्डले परीक्षा दिनका लागि प्रवेशपत्र अनिवार्य गरेको छ । कक्षा १२ मा चार लाख ३३ हजार ६ सय परीक्षार्थीहरु संलग्न हुनेछन्् ।