sita-mahara.jpg

पूर्वसभामुख एवं सङ्घीयसभाका सांसद् कृष्णबहादुर महरालाई पत्नि शोक परेको छ । महरा पत्नि सीताको काठमाडौं थापालथीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज विहान ६ः३० बजे निधन भएको हो । विगत एक दशकदेखि बिरामी रहँदै आउनु भएकी सीता मााइस्थेनिया भन्ने रोगबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समय निमोनिया र स्वासप्रश्वासमा समस्या देखिए पछि दाङस्थित गोर्खा अस्पतालबाट उहाँलाई दुई साता नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । उपचारकै क्रममा पछि कोरोना भाइरसको सङ्क्रमण समेत पुष्टि भएको अस्पतालले जनाएको छ ।

केही समयदेखि पूर्वसभामुख महराका परिवार दाङमा रहँदै आउनुभएको र सीतालाई श्वासप्रश्वासमा समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार दाङको गोर्खा अस्पतालबाट हेलिकप्टरमा काठमाडौं ल्याए उपचारार्थ नर्भिकमा भर्ना गरिएको थियो । रोल्पामा २०१८ साल १३ साउनमा जन्मनु भएकी सीता २०३५ सालमा कृष्णबहादुर महरासँग बैवाहिक जीवनमा बाँधिनुभएको थियो । उहाँका एटम र राहुल गरी दुई छोरा र उन्नती र प्रगती गरी दुई छोरीहरु हुनुहुन्छ ।

तात्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुनदेखि सञ्चालन गरेको जनयुद्धका क्रममा सीता महरालाई समेत तात्कालीन राज्य व्यवस्थाबाट चरम यातना दिएको थियो । त्यही यातना पश्चात् सिथिल बन्दै आउनु भएकी चार सन्तानकी आमा सीताको राजनीतिक जिम्मेवारी खासै नरहेता पनि परिवारलाई सहयोग गर्दै आउनु भएको थियो । वि.सं. २०५४ साल साउन २९ गते राती रोल्पाको मेबाङस्थित घरमा तात्कालीन सरकारका सुरक्षाकर्मीहरु हाल्दा सीता नाबालक छोराछोरीहरुलाई छोडी घेरा तोडेर भाग्न सफल हुनु भएको थियो । घरभित्र रहेका छोराछोरीहरु पनि त्यसरी नै भागेर बाँच्न सफल भएका थिए । सोही समयदेखि कृष्णबहादुर महराको परिवार माओवादी पार्टीको पूर्णकालीन कार्यकर्ता भै जनयुद्धमा होमिएका थिए । यसैक्रममा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले समेत सीता महराको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।