Suprim coart nepal.jpg

काठमाडौं– उपत्यकामा बढ्दो कोरोना भाइरसको सङ्क्रमणले गर्दा सर्वोच्च अदालतद्वारा पक्ष र विपक्षका तर्फबाट दुई÷दुई जना अधिवक्ताले मात्रै बहस पैरवी गर्न पाउने व्यवस्था गरेको छ । न्यायालयबाट हुने न्याय प्रक्रियालाई निरन्तरता दिन बसहमा एक प्रमुख र एक सहयोगी अधिवक्ता मात्रै उपस्थित हुन पाउने व्यवस्था गरिएको सर्वोच्च अदालतले आज सूचना प्रकाशित गरेर उक्त कुराको जानकारी दिएको हो ।

दुईभन्दा बढी कानून व्यवसायी रहेको अवस्थामा अन्य कानून व्यवसायीको तर्फबाट बहस नोट पेश गर्न सकिने व्यवस्था गरिएको उक्त सूचनामा उल्लेख छ । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण गत चैत ९ गतेदेखि अदालतको काम कारवाहीमा समेत प्रतिकूल प्रभाव परेको छ । सरकारले लकडाउन र निषेधाज्ञा हटाएता पनि अदालतको काम कारवाही र सेवालाई विस्तारै गति दिनका लागि यस्तो नीति अवलम्बन गरिएको सर्वोच्चले जनाएको छ ।

आगामी मङ्सिर १ गतेसम्म पुनरावेदन तथा रिट लगायतका निवेदनहरुको दर्ता तथा रिट निवेदनहरुको प्रारम्भिक सुनुवाई एवं बन्दी प्रत्यक्षीकरण अन्तरिम आदेशको छलफल, संवैधानिक इजलासमा पेश हुने रिट निवेदन एवं मुद्दाहरुको सुनुवाई गरिने छ । त्यसैगरी २ गतेदेखि व्यवस्थापनको सहजता र सम्भाव्यतालाई मध्यनजर गर्दै आवश्यकताको आधारमा उपयुक्त देखिएको संख्यामा पेशीको व्यवस्थापन गरी सबै किसिमका मुद्दा, रिट, निवेदन–प्रतिवेदनको नियमित सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।

इजलासमा उपस्थित हुने पक्ष, कानून व्यवसायी, इजलास अधिकृतलगायत सम्बन्धित सबैले अनिवार्य रुपमा माक्स लगाउन, माक्स लगाएरै बहस गर्न र सम्भव भएसम्म प्लाष्टिक भाइजर समेत लगाउन सर्वोच्च अदालतले निर्देशन दिनुको साथै कोरोना भाइरसको सङ्क्रमण हुन नदिनका लागि सावधानीका सबै उपायहरु अवलम्बन गर्न समेत आग्रह गरेको छ ।