Nepal India flag.jpg

काठमाडौं – नेपाल र भारतबीच सीमा विवादका कारण बैठक बस्न नमानेको भारतीय पक्ष अब बैठक बस्न सकारात्मक देखिएको छ । मुख्यत कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री गु्रप (बीडब्लुजी) को बैठक गर्न भारत सकारात्मक देखिएको छ ।

अगष्ट महिनामा नेपालले सो बैठक आयोजना गर्नका लागि प्रस्ताव पठाएता पनि भारतले यस प्रति कुनै चासो दिएको थिएन । यद्यपि अहिले भारत बैठक बस्न सकारात्मक देखिएता पनि मिति भने तय भएको छैन । वार्ताका लागि नेपालले दुई वटा मिति प्रस्ताव गरेको छ । बैठक भर्चुअल मोडालिटी बस्ने बारे अनौपचारिक छलफल भएको छ । सम्भवत यसै महिनाको तेस्रो सातासम्ममा बैठक बस्ने अपेक्षा गरिएको छ ।

उक्त बैठकमा नेपालको कालापानी र सुस्ताको विषयमा भने छलफल गरिने छैन । किनकी दुवै देशका नापी विभागले नेतृत्व गर्ने उक्त बैठकमा प्राविधिक विषयमा छलफल गरी हल गर्न सक्ने अधिकार दिएको छ । कालापानी र सुस्ताको बारेमा विदेश सचिवले कुराकानी गर्ने र अन्य ठाउँका प्राविधिक विषय बीडब्लुजीले हेर्ने गरी दुई देशबीच सहमति भएको छ ।

सन् २०१४ मा निर्माण भएको सो संयन्त्रको मुख्य उद्देश्य दुई देशबीचको सीमा स्तम्भ निर्माण, मर्मत सम्भार र दशगजा क्षेत्रमा भएको अतिक्रमण हटाउनु हो । अहिलेसम्म जम्माजम्मी ६ पटकसम्म उक्त संयन्त्रको बैठक बसेको छ । यो संयन्त्रलाई कालापानी र सुस्ताको विषयमा वार्ता गर्ने म्यान्डेट नभएपनि सीमा समस्या समाधानको लागि सुझाव दिन सक्ने अधिकार भने छ । तसर्थ लामो समयसम्म भारतका कारण रोकिएको जोइन्ट बाउन्ड्री गु्रप (बीडब्लुजी) यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । यसले कालापानी र सुस्ताको विषयमा पनि वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ ।