sanghiya-sansad.jpg

काठमाडौँ – प्रस्तावित तीन राजदूतहरुको संसदीय सुनुवाई कात्तिक २७ गते हुने भएको छ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि सरकारले प्रस्ताव गरेको राजदूतविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि संसदीय सुनुवाई समितिले सोमबार सुनुवाईको मिति तय गरेको हो । मन्त्रिपरिषदको गत असोज १६ गते बसेको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

समितिमा डा. खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजुरी परेको थियो । समितिले उजुरीकर्ता चारजनाको सम्पर्क नम्बर नभएपछि कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेर सम्पर्कमा आउन भनी सार्वजनिक सूचना निकालेको थियो । तर कुनै पनि उजुरीकर्ता समितिको सम्पर्कमा नगएपछि १० दिन पछिका लागि सुनुवाईको मिति तय गरेको छ । संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूतको नियुक्ति गर्ने व्यवस्था रहेको छ । सत्तारुढ नेकपा भित्र आन्तरिक कहल चुलिएका बेला संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतहरुको सुनुवाई १० दिनपछिका लागि तय गरेको हो । प्रस्तावित तीनैजनाको नामलाई लिएर नेकपामा विवाद छ । तीनै जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा सिफारिस गरेको आरोप नेकपाभित्र चुलिएको छ ।