Korona KTM.jpg

काठमाडौं– महामारीको रुपमा विश्वलाई गाँजेको कोरोना भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै युरोपेली देशहरुमा रहेका नेपालीहरु पनि सङ्क्रमणको सिकार बन्दै गएका छन् । कतिपय देशहरुले कोरोना भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै पुन लकडाउन गरेका छन् । गैरआवासीय नेपाली सङघ (ल्च्ल्) ले जनाए अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको र सङ्क्रमितमध्ये ४ सय ५० जना रोमानियामा मात्रै रहेका छन् ।

सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी गराए अनुसार यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसको सङक्रमणबाट कसैको पनि मृत्यु भने भएको छैन । उक्त समितिका अनुसार कुल ४२ वटा देशमा रहेका ४३ हजार ५ सय ६९ नेपालीहरु कोरोना भाइरसको सङ्क्रमणमा परेकामा तीमध्ये ३९ हजार ५ सय ६५ जना अर्थात् ९२ प्रतिशत सङ्क्रमणबाट मुक्त भैसकेका छन् । गत सातासम्म विभिन्न १९ देशमा रहेका सङ्क्रमितहरु मध्ये २ सय ८४ जना नेपालीको मृत्यु भएकोे छ । योसँग कोरोना भाइरस सङ्क्रमणबाट मृत्युहुनेको सङख्या पनि बढेको छ । गत हप्तासम्म सङ्क्रमणबाट मृत्युहुनेको सङ्ख्या करिब ७० प्रतिशत थियो भने अहिले यो यो प्रतिशत बढेर ७६ दशमलव ९ प्रतिशत पुगेको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण बेलायत, फ्रान्स, जर्मन र बेल्जियम जस्ता मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अति आवश्यकबाहेक अन्य प्रयोजनका लागि यात्रा नगर्न उक्त सङ्घले सबै नेपालीमा आह्वान गरेको छ । सङ्घका स्वास्थ्य संयोजक डा. सापकोटाका अनुसार सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गरिएको छ । बाहिर जानै पर्ने भए सुरक्षाका आवश्यक मापदण्ड अपनाएर मात्र निस्कन आग्रह गरिएको छ ।