shai karnali -6.jpg

कर्णाली प्रदेशको सरकार र संसदीय दलमा देखिएको विवाद केही समयका लागि मन्थर भएजस्तो देखिएता पनि विवाद अझै कायम छ । उक्त प्रदेशको प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्दागर्दा एकाएक उक्त कार्य थाँती राखेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड–माधव नेपाल समुहबीचको उत्पन्न विवादको प्रभाव कर्णाली प्रदेशको मन्त्रिमण्डल पुनर्गठनका विषयमा देखिएको छ ।

पार्टीका वरिष्ठ नेता माधव नेपालका पक्षधरसँग भएको पूर्वसहमति अनुसार आज कर्णाली प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा छलफल भएको थियो । यसका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली निकट मानिने पर्यटन मन्त्री नन्दसिंह बुढा र सामाजिक विकास मन्त्री दल रावललाई मन्त्री पदबाट राजीनामा दिन लगाउनु भएको थियो । यो सूचना पार्टी अध्यक्ष ओलीलाई जानकारी गराए पछि राजीनामा नदिन ओलीको निर्देशन पछि राजीनामा र मन्त्रिमण्डर पुनर्गठन गर्ने कार्य रोकिन पुगेको हो ।

केन्द्रमा अध्यक्षद्वय बीचको विवाद उत्कर्षमा पुगेको बेला कर्णाली प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन गर्दा यसले दूरगामी प्रभाव पार्न सक्ने आङ्कलन गरी मन्त्रिपरिषद् पुनर्गठनको कार्य तत्काललाई टरेको एक नेताले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले ओली पक्षका पर्यटन र सामाजिक मन्त्रीद्वयलाई हटाएर वरिष्ठ नेता माधव नेपाल पक्षीय तीन जना सांसद्लाई मन्त्री बनाउने योजना थियो ।

प्रदेशसभामा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता तथा प्रमुख सचेतक यमलाल कँडेललगायत १८ जना सांसद्ले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री शाहीले आफु विरुद्ध अविश्वास प्रस्तावमा दर्ता गर्ने माधव नेपाली पक्षीय सात जना सांसद्मध्ये तीन जनालाई मन्त्री बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीचको सहमतिले मुख्यमन्त्री शाहीको पल्लाभारी भएकोले मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको थियो ।

केन्द्रमा अध्यक्षद्वयबीचको विवाद र कर्णाली प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन गर्दा पार्टीभित्रको विवादमा झन आगोमा घिउ थप्ने काम हुने भएकाले तत्कालका लागि पुनर्गठनको काम स्थागित भएको स्रोतको बनाइ छ । कर्णाली प्रदेशको उत्पन्न विवादका विषयमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्षबीच ठूलै रस्साकस्सी चलेको पनि छ । दुई अध्यक्षबीचको ११ दिनको सम्वादहिनतालाई तोड्दै हिजो १५ गते शनिबार भेटवार्ता भएको थियो ।