taku.jpg

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्तिक २ गतेबाट लागु हुने गरीे सबै कोभिड अस्पताललाई कोरोना सङ्क्रमितको उपचार सःशुल्क गर्न निर्देशन दिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि आईसीयू र आइसोलेशनमा भर्ना भएका बिरामीको लागि शुल्क तोकेको छ । स्वास्थ्यमा जटिल समस्या आइ आईसीयू तथा भेन्टिलेटरमा उपचार गर्दा दैनिक १५ हजार उपचार खर्च लाग्ने अस्पताले तोकेको छ भने धरौटी रकम ५० हजार राख्नुपर्नेछ ।

(कोभिड—१९) कोरोना भाइरसको सङ्क्रमण भएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीको लक्षणका आधारमा दैनिक खर्च र उपचारका लागि लाग्ने धरौटी रकम शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले सार्वजनिक गरेको हो । कोरोना भाइरसको सङ्क्रमणले बिरामी भएर स्वास्थ्य उपचारका लागि धाउने सरकारी अस्पताल मध्यकोे प्रमुख अस्पताल हो —टेकु अस्पताल । यस्तै आइसियु मात्र चाहिने र क्याविन आइसोलेसनमा उपचार गर्नुपर्ने बिरामीले दैनिक ७ हजार ५ सय उपचार खर्च तिर्नुपर्छ भने ३० हजार धरौटी रकम जम्मा गर्नुपर्छ ।

सङ्क्रमित भएर जटिल अवस्थाका बिरामी ग्यास्ट्रो आइसोलेसनमा बस्दा दैनिक ३५ सय उपचार शुल्क लाग्छ भने २० हजार धरौटी रकम तिनुपर्ने अस्पतालले जनाएको छ । विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि, अति अपाङ्गता भएका, अशक्त र एकल महिला सङ्क्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचय पत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म उपचार छुट दिने अस्पतालले जनाएको छ ।