Nepal-PM-Oli.jpg

राजनीतिक दलहरुको गलत कार्यशैलीले नेपालको परराष्ट्र नीति फितलो बन्दै गएको छ । यसको प्रत्यक्ष असर देशको सार्वभौमिकता माथि परेको छ । देशका प्रधानमन्त्रीदेखि पार्टीका शीर्ष नेताहरु कुटनीतिक मर्यादाको ख्याल नगरी विदेशी दूतहरुलाई सहजै भेट्न दिने र कुराकानीका दौरानमा आफ्ना अनुकुलको व्याख्या गरिंदिदा नेपाल विदेशी शक्तिकेन्द्रहरुको चक्रब्यूहमा फस्दै गएको सर्वत्र चिन्ता र चासो व्यक्त गर्न थालिएको छ । सरकार र राजनीतिक दलहरुले निहित स्वार्थका खातिर राष्ट्रिय राजनीतिमा विदेशी शक्तिकेन्द्रलाई चलखेल गर्ने वातावरण बनाइदिंदा देशको राष्ट्रिय अखण्डतामाथि नै गम्भीर अवस्था सिर्जना भएको विदेशी मामलाका जानकारहरु बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिलाई नै तरङ्गित हुने गरी भारतीय खुफिया एजेन्सी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई दुई घण्टासम्म आफ्नो निवास बालुवाटरमा भेट्नुलाई अर्थपूर्ण मानिएको छ । यो भेटलाई लिएर स्वयम् अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीको पार्टी नेकपा भित्र ठूलो हलचल ल्याएको छ । त्यसोत यो भेटघाटको प्रपञ्च मिलाउन ‘रअ’ का उपप्रमुखले दुई साता अघि प्रधानमन्त्रीलाई भेटेर जानुभएको थियो । उक्त भेटका क्रममा प्रधानमन्त्रीले ‘रअ’ का प्रमुखलाई भेट्ने अभिलाषा प्रकट गर्नु भएकोले ‘रअ’ का प्रमुख गोयल नेपाल आएको भन्ने पनि एकथरीको भनाइ छ ।

नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समावेश गरेर नयाँ नक्सा प्रकाशिन गरेपछि भारतसँग नेपालको सम्बन्ध चिसिएको थियो । नेपालको नयाँ नक्साप्रति ठूलो विमति जनाउँदै आएको भारतलाई नेपाल सरकारले पटक पटक वातामा आउन आग्रह गर्दा समेत त्यसलाई लत्याउँदै आएको छ । नेपालको नयाँ नक्सालाई संयुक्त राष्ट्रसंघले समेत मान्यता दिए पछि भारतमाथि नैतिक दवाव परेको विदेशी मामलाका जानकारहरु बताउँछन् । नेपाल र भारतबीचको शितयुद्ध चलिरहेका बेला एकाएक भारतीय गुप्तचरी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलको आगमनले आम नेपालीको मन कुँडिएको छ । त्यतिमात्र होइन नयाँ नक्सा प्रकाशित गरेसँगै गत अप्रिलमा तत्काल नेपालप्रति कटाक्ष गरेका भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे आगामी १९ गते नेपालको ३ दिने भ्रमणमा आउँदै हुनुहुन्छ । यसले पनि नेपालीको मन अमिलिएको छ ।

त्यसो त देशको प्रधानमन्त्री समेत भैसक्नु भएका पूर्वमाओवादी नेता तथा हाल जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्का अध्यक्ष डा- बाबुराम भट्टराईले समेत नेपालको नाममै नरहने हो कि भन्ने अवस्था आउने आशङ्का व्यक्त गर्नु भएको छ । त्यसैगरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा-भीम रावलले भारतीय खुफिया एजेन्सी संस्था ‘रअ’ का प्रमुखलाई प्रधानमन्त्रीले जुन किसिमले भेट गर्नुभयो त्यो देशको स्वाधीनताविपरित रहेको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ । त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको प्रधानमन्त्रीले अर्को देशको जासुसी संस्थाका प्रमुखलाई भेट्ने काम के पर्छ भन्दै जनतालाई यसको जवाफ दिनुपर्छ भन्नुभएको छ ।

भारतीय खुफिया संस्था ‘रअ’ का प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी आफ्नो प्रोटोकल, मर्यादा र कूटनीतिकलाई ख्याल नगरी भेट्नु गैह्र जिम्मेवारीको पराकाष्ठा मान्न सकिन्छ । स्वयम् पार्टीको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले यसरी कूटनीतिक मर्यादाको ख्याल नगरी एउटा देशको सामान्य कर्मचारी भेटेकोप्रति पार्टी भित्र र पार्टी बाहिर कडा आलोचना भैरहेको छ । भारतीय गुप्तचरी संस्था ‘रअ’का प्रमुख गोलयसहित नौ जनाको टोली १२ गते बुधबार काठमाडौं आएको थियो । प्रधानमन्त्री ओलीलाई भेटे पछि भोलिपल्ट बिहीबार नै उक्त टोली दिल्ली फर्किएको थियो ।