चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीचको घट्ना घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले आक्रमण गर्दा पछिल्लो तीन वर्षमा ३६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तीन वर्षको अवधिमा जनावरको आक्रमणबाट आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी मानवीय क्षति भएको छ । सो आवमा वन्यजन्तुको आक्रणमा परी २२ जनाको मृत्यु हुनुका साथै १ सय २० जना घाइते भएका थिए ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामका अनुसार आ .व २०७४/७५ मा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु र ३२ जना घाइते भएका थिए भने यस आ .व २०७६/७७ मा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ तथा घाइतेका े सङ्ख्या ३४ पुगेको सूचना अधिकारीले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जबाट जनावर सजिलै मध्यवर्ती क्षेत्रमा प्रवेश गर्ने र मानिससँग भेट हुँदा उनीहरुले आक्रमण गर्ने गरेको उहाँले बताउनुभएको छ ।

मानव–वन्यजन्तु द्वन्द्व बढेपछि यसको नियन्त्रणका लागि निकुञ्जले मध्यवर्ती क्षेत्रमा करेन्टको झड्का तथा मेसजाली लगाउन थालेको छ । “निकुञ्जका जनावरलाई बस्तीमा प्रवेश रोक्नका लागि सबैभन्दा प्रभावकारी आरसिसी पर्खाल भएकोले विद्युतीय झड्काबाट वन्यजन्तुलाई क्षति नहुने गरी योे निर्माण गर्न लागिएको हो । विद्युतीय झड्का नाघेर जनावर बस्तीमा पस्न नसक्ने हुदाँ यो कार्य भैरहेको छ ।निकुञ्जका जनावरबाट हुने मानवीय क्षतिका लागि वर्षेनी राहत प्रदान गरिँदै आएको छ । आव २०७४/७५ देखि आव २०७६/७७ सम्म वन्यजन्तुको आक्रमणबाट भएको मानवीय क्षतिवापत निकुञ्जले राहतस्वरुप रु पाँच करोड ९० लाख ९६ हजार ६ सय ४४रुपैँया प्रदान गरेको छ ।

निकुञ्जले आव २०७४/७५ मा मृत्यु भएका पाँच जनाको परिवारलाई प्रतिपरिवार रु १० लाखका दरल राहत उपलब्ध गराएको थियो । त्यस्तै निकुञ्जका जनावरबाट घाइते भएका व्यक्तिको उपचार खर्चसमेत निकुञ्जले व्यहोर्दै आएको छ । जङ्गली जनावरको आक्रमणबाट व्यक्तिको मृत्यु भएमा निकुञ्जले रु १० लाख तथा घाइते भएमा उपचार खर्च उपलब्ध गराउँदै आएको सूचना अधिकारी जानकारी दिएका छन् । गत आव २०७६/७७ मा जनावरबाट मृत्यु भएका नौ जनाको परिवारलाई रु ९० लाख तथा घाइते भएका ३४ जनाको उपचारलाई खर्चवापत रु छ लाख ७६ हजार ६सय ७८ रुपैँया प्रदान गरिएको छ ।

अघिल्लो आव २०७५/७६ मा भन्दा गत आव २०७६/७७ मा मानव–वन्यजन्तु द्वन्द्व घटेको तथ्याङ्कले देखाएको छ । निकुञ्जको जनावरबाट हुने क्षति घटेसँगै राहत रकमसमेत घटेको तथ्याङ्कले देखाएको छ चालू आव २०७७/७८ को तीन महिनामा चितवन निकुञ्जबाट निस्किएको बाघको आक्रमणले तीन जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका तीनै जना चितवनका हुन् भने जङ्गलमा घाँस काट्ने जाने क्रममा उनीहरुलाई बाघले आक्रमण गरेको थियो । यस आवमा ज्यान गुमाउनेको परिवारलाई राहतवापतको रकम भुक्तानी गर्नका लागि प्रक्रिया भइरहेको छ ।