NCP-2073.png

काठमाडौं । तात्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता अढाई वर्ष वित्न लाग्दा पनि अहिलेसम्म टुङ्गिन सकेको छैन । शीर्ष नेतृत्वमै देखिएको किचलोका कारण पार्टीको तल्लो निकायसम्मको पार्टी एकताको काम हुन सकेको छैन । यसबाट दुवै पार्टीको तल्ला निकायहरु अस्तित्वमा नरहे पनि एकता नहुँदा कार्यकर्ता पलायन भएको अवस्था छ । आगामी निर्वाचनमा यसले प्रतिकुल प्रभाव पर्न सक्ने छ । पार्टी एकताको काम पूर्वघोषित कार्यक्रमअनुसार अघि बढेको भए आज यो पार्टीमा एकताका सम्पूर्ण कामका साथै सदस्यता नवीकरण, प्रदेश तथा स्थानीय कमिटीका अधिवेशन र राष्ट्रिय महाधिवेशन समेत सम्पन्न भइसक्नु पर्ने थियो । तर राष्ट्रिय महाधिवेशनको त कुरै छाडौं अहिलेसम्म पनि एकता–एकीकरणका कतिपय महत्वपूर्ण कामहरु समेत टुङ्गिन सकेका छैन ।
सिद्धान्त एउटै भए पनि दुवै पार्टीको पृष्ठभूमि फरक थिए । त्यतिमात्र होइन उनीहरुको कार्यदिशा पनि फरक थियो । फरक पृष्ठभूमि र फरक कार्यदिशाबाट प्रशिक्षित नेता कार्यकर्ताहरुमा अझैसम्म आत्मीय एकताको भाव र एउटै पार्टीको कार्यकर्ता अनुभव गर्न सकेका छैनन् । त्यहाँ पनि कित्ताकाँट नै छ । वि.सं. २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा गरिएको थियो । त्यसबेला ३ महिनाभित्र पार्टी एकताका सबै काम सक्ने घोषणासमेत गरिएको थियो । तर तीन महिना त के यही ताल हो भने तीन वर्षमा पनि नेकपाको एकता प्रक्रियाले पूर्णता पाउने देखिँदैन ।

पार्टीको पृष्ठभूमि र कार्यदिशाले निर्माण गरेको मनोविज्ञान, शीर्ष नेताहरूका बीचमा बेलाबेलामा उत्पन्न असमझदारी र एकीकरणका सङ्गठनात्मक विषयहरूमा सहमति हुन नसक्दा एकीकरण प्रक्रियामा अनपेक्षित ढिलाइ हुन पुगेको नेकपाका दस्तावेजहरूले नै बोलिसकेका छन् । हुन त अहिले कोभिड–१९ महामारीको सामना गर्नुपर्ने बहानाले पार्टीका काम प्रभावित भएको भनेर पन्छिन नेतृत्वलाई केही सहज भने बनाइदिएको छ । तर यसले कालान्तरमा पार्टी संगठन निर्माणमा दूरगामी प्रभाव पर्नेमा कुनै सन्देह रहन्न ।
दुई पार्टी बीचको एकतालाई मूर्तरुप दिन एकताको महाधिवेशन अत्यावश्यक हुन्छ । तर प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको रस्सा कस्सिले साउनको अन्तिम सातामा बोलचान नै रोकियो ।

पार्टी विभाजनको सङ्घारमा पुग्यो । प्रचण्डलाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समुहले साथ दिएका दिंदै आउँदा अध्यक्ष ओली अल्पमतमा परे । त्यसपछि ओलीको दम्भमा केही सिथिलता आयो । दुई अध्यक्षबीचको एक साताको सम्वादहिनतालाई चिर्दै कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा पुगे र आइसब्रेक गरे । तत्पश्चात दुवै अध्यक्षले पार्टी भित्रको विवाद अन्त्य गर्न भन्दै भदौ ६ गते पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भयो । उक्त कार्यदलको प्रतिवेदनको आधारमा नै मन्त्रीमण्डल पुनर्गठन गर्ने र पार्टी एकताको थाति रहेको काम सम्पन्न गर्ने सहमति भयो ।
गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकले एक महिना अर्थात असोज महिनाभित्र पार्टी एकताका सम्पूर्ण काम सक्ने निर्णय गरेको थियो । स्थायी समितिको निर्णयअनुसार नै सचिवालय बैठकले एकताका बाँकी काम सक्न अध्यक्षद्वय र महासचिवलाई असोज ६ गते ठोस कार्ययोजना ल्याउन निर्देशन दिएको हो । तर अध्यक्षद्वय ओली र प्रचण्डले नै प्रस्तावबारे खास चासो नदेखाएपछि महासचिव पौडेलले कार्ययोजनाबारे नेताहरूसँग सामान्य छलफल गरे पनि त्यसलाई अन्तिम रूप दिने गरी काम अघि बढाउन सकेका छैनन् ।