Parliyament nepal.jpg

काठमडौं–सङ्घीय संसदको संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारले पूर्वमन्त्री डा.युवराज खतिवडासमेत तीनजनालाई राजदुत बनाउन प्रस्ताव गरेसँगै सत्तारुढ दलभित्र मात्र होइन बाहिर पनि राजदूत नियुक्तिको विरोध भएको छ । असोज १६ गतेको मन्त्रीपरिषद्को बैठकले पूर्वमन्त्री डा.युवराज खतिवडालाई अमेरिका, डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिका र निर्वतमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।

प्रस्तावित राजदूतहरुको राष्ट्रपतिबाट नियुक्ति हुनुअधि संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन हुनुपर्ने संवैधानिक व्यवस्था छ । आज बुधवार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित तीनै जना राजदूतको विरुद्ध उजुरी दिन १० दिनको समय दिएर सूचना जारी गरेको छ । समितिको सचिवालयले जनाएअनुसार आगामी कार्तिक ३ गतेसम्म उनीहरुका विरुद्ध उजुरी दिन सकिने छ । सूचनामा सिफारिस गरिएका व्यक्तिलाई राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार सहितका सबुद प्रमाणसहित उजुर दिन सकिने छ । उजुरी दिने उजुरीकर्ताको परिचय गोप्य राखिने समितिले जनाएको छ ।