safari.jpg

चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । यस्तै निकुञ्जको सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टी बाटोको ढिकमा उँधोमुन्टो लागेको अवस्थामा अन्दाजी १२ वर्षको भाले गैँडा मृतावस्थामा भेटिएको थियो ।
मृत गैँडाको प्रकृति हेर्दा गैँडा एक आपसमा जुँधेर बिरामी भई मरेको हुनसक्ने अनुमान गरिएको छ ।पछाडिको खुट्टा भाँचिएको अवस्थामा भेटिएको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जले जनाएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको तीन महिनाभित्र मात्रै विभिन्न कारणबाट सात वटा गैँडाको मृत्यु भइसकेको छ । हाल चितवन रास्ट्रिय निकुञ्जमा ६ सय ५ वटा गैँडा रहेका छन् ।