dang.jpg

प्रदेश नं. ५ को नाम र राजधानी आज प्रदेशसभाबाट अनुमोदन भएको छ । अब प्रदेश नं. ५ को नाम लुम्बिनी प्रदेश हुनेछ भने राजधानी भने दाङ जिल्लाको देउखुरी रहने भएको छ । यससम्बन्धी मतदानका क्रममा उपस्थित प्रदेशसभा सांसद्को दुई तिहाइ बहुमत सांसदहरुले लुम्बिनी प्रदेश र राजधानी देउखुरी पक्षमा मतदान गरेपछि प्रदेशको नाम लुम्बिनी र राजधानी देउखुरी रहने निर्णय भएको हो ।

सुरुमा प्रदेशसभामा राजधानीको प्रस्तावमा मतदान भएको थियो जसमा ८२ जना सांसदहरुमध्ये ६९ जनाले प्रस्तावको पक्षमा र १३ जनाले प्रस्तावका विपक्षमा मतदान गरेका थिए । धारा २९५ को उपधाराको धारा २ बमोजिम दुई तिहाइ बहुमतले शान्तिका अग्रदूत गौतम बुद्धको नामबाट लुम्बिनी प्रदेश नामाकरण गर्ने बहुमतले स्वीकृत गरेको हो । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसद्ले संशोधन प्रस्तावको पक्षमा, कांग्रेसका डिल्ली चौधरी, अर्जुन श्रेष्ठ, शङ्कर गिरी, भुवनेश्वर चौधरी, मोयाकुव अन्सारीले पनि सरकारकै पक्षमा मतदान गरेका थिए । यसअघि कांग्रेसका रमा अर्याल र पुष्पा थरुनी र जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएपछि मतदान सुरु भएको थियो । उक्त मतदानमा कांग्रेस सांसद् सुरेन्द्र हमाल उपस्थित रहेनन् ।

हिजो मात्रै प्रदेशसभामा प्रदेशको नाम र राजधानीका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद्हरुले सभाहलमा नारावाजी गर्दै व्यापक तोडफोड गर्दै अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेका थिए । अब दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगङ्गा नगरपालिकाले ओगटेको राप्ती नदी किनारको मैदान भागलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी तय गरिएको छ ।