काठमाडौं– मुलुकभर आज पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जना कोरोना भाइरसको सङ्क्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट उक्त सङ्ख्यामा नयाँ सङ्क्रमित भेटिएकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेका छन् भने ४ हजार २ सय २१ जना क्वारेन्टिनमा छन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताए अनुसार आज मङ्गलबार २ हजार ३ सय ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

आज सङ्क्रमित भएका मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ७ सय ८३, ललितपुरका १ सय १८, तथा भक्तपुरका १ सय १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५१ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सङख्या ९० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार हाल देशभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ९० हजार ८ सय १४ पुगेको छ । कोरोनाबाट हालसम्म ५ सय ६३ जनाले ज्यान गुमाएका छन् ।