bishwoprashad.jpg

अनसनरत चिकित्सक डा. गोविन्द केसीका माग पूरा नभए त्यसबाट उत्पन्न हुनसक्ने दुर्घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चेतावनी दिएको छ । चिकित्सक क्षेत्र सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका डा. केसीप्रति आज २२ औं दिन पुग्दा पनि सरकारले वार्ताका लागि तयार नभएको सरकारले भोलि निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसले चेतावनी दिएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले डा.केसीका माग समयमै सम्बोधनका लागि सरकारसँग आग्रह गरेका छन् । डा. केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने भन्दै सरकारले अनसनको २२ दिन पुग्दा पनि वार्ता समेत सुरु नगर्दा लोकतान्त्रिक आवरणभित्र कम्युनिष्टतन्त्र जागृत भइरहेको प्रवक्ता शर्माले आक्रोश व्यक्त गरेका छन् । अधिनायकवादी आकांक्षा राखेर अगाडि बढेको सरकारले डा.केसीका मागहरु सुनुवाई गर्न ढिलाइ गरिरहेको भन्दै हिजो नेपाली कांग्रेसको सरकारले गरेका निर्णयहरु उल्ट्याउँदा अहिलेको अवस्था सिर्जना भएको दावी समेत गरेका छन् ।

कांग्रेसले शुल्क समायोजन, अध्यादेशमार्फत् ७५ प्रतिशत छात्रवृत्ति, काठमाडांैमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ मेडिकल कलेजलाई मात्रै सञ्चालनको अनुमति दिने निर्णय गरेपनि सरकारले सबै निर्णय उल्ट्याउँदा अहिलेको अवस्था आएको प्रवक्ता शर्माको दावी छ । हिजो आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले डा. केसीका माग पूरा गर्न सरकारसंग आग्रह गरेका थिए । डा. केसीको आन्दोलनमा नेपाली कांग्रेसले ऐक्यवद्ध जनाएको छ ।